अमेरिकी वार्ताकारहरू पुग्नुअघि अडान राखेर फर्किए विदेशमन्त्री अराघची
.
प्रकाशित २०८३ वैशाख १३ आइतबार
519
Shares
काठमाडौँ । मध्यपूर्वमा जारी तनाव र युद्ध अन्त्यका लागि पाकिस्तानी मध्यस्थकर्ताहरूले नयाँ चरणको वार्ताका लागि दबाब बढाएपछि इरानका विदेशमन्त्री अब्बास अराघची शनिबार इस्लामाबादको भ्रमण सकेर फर्किएका छन्।
अमेरिकी वार्ताकारहरू पाकिस्तान आइपुग्नुअघि भएको यस भ्रमणका क्रममा विदेशमन्त्री अराघचीले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ, विदेशमन्त्री इशाक दार र सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरसँग छुट्टाछुट्टै भेटवार्ता गरे।
भेटका क्रममा उनले मध्यपूर्वमा युद्धविरामसँग सम्बन्धित पछिल्लो घटनाक्रम र इरानविरुद्ध 'थोपरिएको' युद्धको पूर्ण अन्त्यका सम्बन्धमा आफ्नो देशको स्पष्ट र सैद्धान्तिक अडान प्रस्तुत गरे।
पाकिस्तानले मध्यपूर्वको संकट समाधानमा सक्रिय मध्यस्थताको प्रयास गरिरहेको सन्दर्भमा इरानी विदेशमन्त्रीले पाकिस्तानको यस भूमिकाका लागि धन्यवाद समेत दिए।
पाकिस्तानी विदेशमन्त्री इशाक दारले इरानी प्रतिनिधिमण्डलसँगको झन्डै दुई घण्टा लामो छलफलमा पाकिस्तानले समस्या समाधानका लागि वार्ता र कूटनीतिको महत्त्वमा विशेष जोड दिएको जानकारी दिए।
अमेरिकी अधिकारीहरू इस्लामाबाद पुग्नुअघि नै इरानी विदेशमन्त्रीले आफ्ना अडानहरू पाकिस्तानी नेतृत्वसामु राखेर स्वदेश फर्कनुलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। इरानको सरकारी सञ्चारमाध्यमले पनि विदेशमन्त्री अराघचीले आफ्ना धारणा पेश गरी इस्लामाबाद छाडेको पुष्टि गरेका छन्।