arrow

एलडीसी स्तरोन्नतिपछि औषधि र खोपको मूल्य बढ्ने निश्चित: महानिर्देशक बस्नेत

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
basnet-dr.jpg

काठमाडौँ । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि औषधि र खोपको मूल्यमा ठूलो वृद्धि हुन सक्ने चेतावनी दिएका छन्। 

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्तरोन्नतिपछि नेपालले अन्तर्राष्ट्रिय व्यापारमा पाउँदै आएका विभिन्न छुट र सुविधाहरू कटौती हुने बताए। हाल नेपाल अल्पविकसित राष्ट्रको सूचीमा रहेकाले औषधि र खोप उत्पादन गर्दा बौद्धिक सम्पत्तिको प्याटेन्ट अधिकार नलिई उत्पादन गर्न पाउने विशेष सुविधा पाइरहेको भए पनि विकासशील राष्ट्र बनेपछि प्याटेन्ट अधिकार भएका कम्पनीहरूलाई अनिवार्य रूपमा रोयल्टी तिर्नुपर्ने हुन्छ।

यस परिवर्तनले नेपालमा उत्पादन भइरहेका औषधिको लागत बढेर मूल्य स्वाट्टै बढ्न सक्ने र यसको प्रत्यक्ष असर निजी क्षेत्रका औषधि उद्यमीहरूमा पर्ने महानिर्देशक बस्नेतको भनाइ छ। व्यापारिक सहुलियतहरू हट्दा र उत्पादन लागत बढ्दा नेपालले भारत तथा अन्य तेस्रो मुलुकसँगको व्यापारमा पाइरहेको सुविधा समेत गुम्ने र यसले देशको कर प्रणालीमा पनि परिवर्तन ल्याउनुपर्ने स्थिति आउने उनले उल्लेख गरे। 

यो चुनौती औषधि क्षेत्रमा मात्र सीमित नभई अन्य धेरै क्षेत्रमा पनि देखिने भएकाले भविष्यमा आउन सक्ने यस्ता जोखिमहरूलाई सम्बोधन गर्न सरकारले अहिले नै ठोस जोखिम न्यूनीकरण रणनीति बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए। यस्ता परिवर्तनले व्यावसायिक वातावरण र उपभोक्ताको क्रयशक्तिमा समेत गम्भीर प्रभाव पार्ने भएकाले यसबारे समयमै सोच्नुपर्ने उनको तर्क छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ