बौद्धिक सम्पत्ति संरक्षण कमजोर हुँदा स्वदेशी उद्योगी मारमा: उपाध्यक्ष ढकाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
294
Shares
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपालमा बौद्धिक सम्पत्ति संरक्षण प्रणाली कमजोर र ढिलो हुँदा स्वदेशी उद्योगी–व्यवसायीहरू गम्भीर मारमा परिरहेको बताएका छन्।
विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खुला सिमाना र बजारका कारण नक्कली उत्पादनको बिगबिगी बढेकाले बौद्धिक सम्पत्तिको रक्षा गर्न ढिला भइसकेको उल्लेख गरे। ढकालले आफ्नै हेरिटेज ग्रुपका उत्पादनहरू समेत अन्य व्यवसायीले नक्कल गरेर बजारमा ल्याउने गरेको तर त्यस्ता विषयमा गुनासो गर्दा तुरुन्त सुनुवाइ नहुने र प्रक्रिया अत्यन्तै लामो हुने समस्या रहेको गुनासो गरे। उनका अनुसार हालको संरचना र कानुनी प्रक्रियाले गर्दा बौद्धिक सम्पत्तिसम्बन्धी विवाद समाधान हुन १० देखि १५ वर्षसम्म लाग्न सक्ने चुनौतीपूर्ण अवस्था छ।
अदालतमार्फत समाधान खोज्दा समेत लामो समय लाग्ने भएकाले यस क्षेत्रमा तत्काल नीतिगत सुधारको आवश्यकता रहेकोमा उनले जोड दिए। संस्कृति मन्त्रालय र उद्योग मन्त्रालयले संयुक्त रूपमा पहल गरी छिटो र प्रभावकारी समाधान निकाल्ने वैकल्पिक बाटो खोज्नुपर्ने उनको सुझाव छ।
उपाध्यक्ष ढकालले बौद्धिक सम्पत्तिका लागि छुट्टै विशिष्टीकृत विभाग बनाएर विज्ञहरूमार्फत प्रविधिमैत्री ढंगले छिटो निर्णय गर्ने प्रक्रिया सुरु नगरे यो समस्या अझै दशकौँसम्म अल्झिरहने दाबी गरे। खाद्य क्षेत्रदेखि सङ्गीत, सिर्जनात्मक क्षेत्र र खेलकुद सामग्रीसम्म बौद्धिक सम्पत्तिको महत्त्व बढ्दै गएकाले उद्योग वाणिज्य महासंघले पनि यसलाई प्राथमिकतामा राखेर छुट्टै समिति गठन गर्नुपर्ने आवश्यकता उनले औँल्याए।
नयाँ प्रविधि र कानुनको विकास भइरहेको विश्वव्यापी परिवेशमा नेपाल पछि पर्न नहुने भन्दै उनले यस कार्यमा निजी क्षेत्र सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे।