त्रिकोणात्मक क्रिकेटमा यूएईविरुद्ध नेपालको अर्को सनसनीपूर्ण जित, छ रनको सफलता
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
542
Shares
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा नेपालले यूएईमाथि सनसनीपूर्ण जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले यूएईमाथि मात्र छ रनको सनसनीपूर्ण जित हासिल गरेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार शतकको मद्धतले ७ विकेटको क्षतिमा २८९ रन बनायो ।
ऐरीले ९४ बलमा १०० रन बनाएका हुन् । विनोद भण्डारिले ७९ बलमा ५६, गुल्सन झाले ३८ बलमा ४४ तथा कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रन बनाए ।
जवाफमा वर्षाले प्रभावित खेलमा ३८ ओभरमा २५५ रनको चुनौती पाएको यूएईले ८ विकेटको क्षतिमा २४८ रन बनाएपछि ६ रनले पराजित भयो ।
मुहुम्मद शहदादले ६५ तथा खुजैमा तन्वीरले २६ बलमा ४९ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामि र नन्दन यादवले समान २ विकेट लिए ।
यसअघिको खेलमा नेपालले यूएईमाथि ३७ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
जारी श्रृंखलामा दुवै खेलमा नेपालले यूएईलाई हराएको छ ।
ओमानसँग भने नेपालले १०२ रनको फराकिलो हार बेहोरेको छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ८ विकेटको क्षतिमा ३०५ रन बनायो । कप्तान जतिन्दर सिंहले ओमानका लागि अहिलेसम्मकै उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ९६ बलमा १३० रन जोडे । उनले १५ चौका र ५ छक्का हानेका थिए ।
त्यस्तै जितेन रामआन्नदीले ४३ बलमा ४३ रन बनाए । सोमपाल कामिले ४ तथा सन्दीप लामिछाने र दिनेन्द्र सिंह ऐरीले समान २ विकेट लिए ।
जवाफमा वर्षाले प्रभावित खेलमा डक वर्थ लेविस नियमअनुसार नेपाल १०२ रनले पराजित भयो । नेपालले ३६ ओभर ५ बल खेल्दा ७ विकेटको क्षतिमा १५५ रनमात्र बनाउन सक्यो ।
वर्षाले २५८ रनको नयाँ चुनौतीमा नेपाल निकै पछाडि परेको हो । दिपेन्द्रले ६२ बलमा ६० रन बनाएको इनिङ्समा अन्य कुनै ब्याटरले उल्लेखनीय खेल्न सकेनन् ।
फर्ममा नभएका कप्तान रोहित पौडेलले २३ बलमा १० रनमात्र जोड्न सके ।
यो श्रृंखलाको अन्तिम खेलमा नेपालले अब ओमानसँग खेल्नुछ ।
अंक तालिका
अंक तालिकामा २४ खेलबाट ३६ अंकसहित अमेरिका शीर्ष स्थानमा छ । २८ खेलबाट ३४ अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा छ ।
२६ खेलबाट ३१ अंकसहित ओमान तेस्रो, २४ खेलबाट २८ अंकसहित नेदरल्याण्डस् चौथो, २८ खेलबाट २२ अंकसहित नामिबिया पाँचौँ तथा २४ खेलबाट २१ अंकसहित क्यानाडा छैटौँ स्थानमा छ ।
२३ खेलबाट १६ अंकसहित नेपाल सातौँ तथा २३ खेलबाट १२ अंकसहित यूएई पुछारमा छ ।
नेपालका लागि आफूभन्दा माथिल्लो तालिकामा रहेका नामिबिया र क्यानाडालाई उछिन्न काठमाडौँका लगातार दुई श्रृंखलाका आठमध्ये कम्तीमा पाँच खेलमा जित अनिवार्य छ ।
यस पटकको खेलमा नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भूर्तेल, आशिफ शेख, भिम विश्वकर्मा, आरिफ शेख, बासिर एहेमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामीछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन् । मुख्य प्रशिक्षक स्टुआर्ट ल हुन् भने सहायक प्रशिक्षकहरुमा कलाम अली र बसन्त शाही रहेका छन् ।