हिमालमा डेंगीको त्रास, स्वास्थ्य समस्यामात्र नभइ जलवायु परिवर्तनको गम्भीर चेतावनी
जनकबहादुर शाही,
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
777
Shares
हुम्ला । चिसो हावापानी, हिमाली भूगोल र स्वच्छ वातावरणका कारण लामखुट्टेजन्य रोगबाट सुरक्षित मानिएको हुम्लामा डेंगी संक्रमण पुष्टि हुनु अब केवल स्वास्थ्य समस्या रहेन । यो जलवायु परिवर्तनको गम्भीर चेतावनी बनेको छ।
सिमकोट गाउँपालिका–२, ठेहे घर भई हाल सदरमुकाम सिमकोटमा बसोबास गर्दै आएका ४५ वर्षीय पुरुषमा डेंगी संक्रमणसँगै खतराको संकेत देखिएको स्वास्थ्य सेवा कार्यालय, हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले जानकारी दिएका छन् ।
हिमाली जिल्लासम्म डेंगी पुग्नु जलवायु परिवर्तन, तापक्रम वृद्धि, अनियमित वर्षा, वातावरणीय असन्तुलन र सरकारी उदासीनताको प्रत्यक्ष परिणाम हो। पहिले असम्भव मानिएका रोगहरू अब हिमालको काखमै देखिन थालेपछि राज्यको वातावरणीय नीति र जनस्वास्थ्य तयारीमाथि गम्भीर प्रश्न उठेको छ ।
विकासका नाममा वातावरण विनाश, कमजोर सरसफाइ, दीर्घकालीन जलवायु रणनीतिको अभाव र स्वास्थ्य पूर्वतयारीको कमीले गर्दा हुम्लाजस्तो दुर्गम भूगोलसमेत नयाँ महामारीको जोखिममा परेको छ। सरकार अन्तर्राष्ट्रिय सम्मेलनमा जलवायु परिवर्तनका ठूला प्रतिबद्धता जनाइरहे पनि स्थानीय तहमा त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा नागरिकले प्रत्यक्ष संकट भोग्न बाध्य छन् ।
हिमाली क्षेत्रमा डेंगीको उपस्थिति सामान्य घटना नभई बदलिँदो पृथ्वीको खतरनाक संकेत हो। यदि राज्य अझै पनि मौन रहने हो भने भविष्यमा हिमालदेखि तराईसम्म जलवायुजन्य रोग, खाद्य संकट र जनस्वास्थ्य विपत्ति अझ भयावह बन्न सक्ने स्थानियबासीको भनाई छ ।
यसरी हुम्लामा डेंगी देखिँदासमेत सरकारको चेत नखुल्ने हो भने जलवायु परिवर्तन न्यूनीकरण, वातावरण संरक्षण र जनस्वास्थ्य सुरक्षाका सरकारी नीति केवल कागजी दस्तावेजमा सीमित हुनेछन् ।
हुम्लामा देखिएको डेंगी संक्रमणले सरकारलाई समयमै कठोर कदम चाल्न, वातावरणीय संरक्षणलाई प्राथमिकता दिन र जलवायु संकटविरुद्ध प्रभावकारी राष्ट्रिय रणनीति लागू गर्न हुम्ला बासीले कडा खबरदारी गरेका छन्।