काठमाडौँ । नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङमा ठुलो सङ्ख्यामा दुर्लभ जङ्गली गधा (क्याङ) देखा परेका छन्। समुन्द्री सतहदेखि करिब पाँच हजार मिटर उचाइमा रहेको लोमान्थाङ गाउँपालिका-१ स्थित धालुङ र सेतारा उच्चलेकमा यी वन्यजन्तु चर्दै गरेको अवस्थामा भेटिएका हुन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ कार्यालयका प्रमुख उमेश पौडेलका अनुसार कोरला नाकाबाट फर्किने क्रममा धालुङमा एक सय दुई वटा र सेतारामा १४ वटा गरी कुल ११६ वटा जङ्गली गधा देखिएका हुन्। यसअघि सन् २००४ मा गरिएको अध्ययनले उपल्लो मुस्ताङमा जम्मा ३७ वटा जंगली गधा रहेको देखाएको थियो। यति ठुलो बथान एकै ठाउँमा देखिएको यो पहिलो पटक हो।
जङ्गली गधा (क्याङ) ट्रान्स हिमालयन क्षेत्र (तिब्बत र मुस्ताङ) का रैथाने प्राणी हुन्। यिनीहरूले मौसमअनुसार आफ्नो बासस्थान परिवर्तन गर्ने गर्छन्। सामान्यतया हिउँदयामका आठ महिना तिब्बती पठारमा बिताउने यी गधाहरू बर्खायाम सुरु भएसँगै अप्रिल, मे र जुन महिनामा उपल्लो मुस्ताङका उच्च भूभागमा प्रवेश गर्ने गर्छन्। हाल मुस्ताङका सीमावर्ती लेकहरूमा हरियो घाँस पलाउन थालेकाले आहारको खोजीमा यिनीहरू नेपालतर्फ आएको प्रमुख पौडेलले बताए।
जङ्गली गधा एसियाकै सबैभन्दा ठुलो स्तनधारी प्राणीमध्ये एक हो। यसको शरीर खैरो-रातो र पेटतिरको भाग सेतो हुने गर्छ। लामा खुट्टा हुने यो प्राणी निकै छिटो कुद्न सक्छ। समूहमा बस्ने, सतर्क रहने र मानिसको पदचाप पाउनेबित्तिकै भाग्ने यसको मुख्य विशेषता हो।
यद्यपि, जलवायु परिवर्तनका कारण हुने जलवायु सङ्कट र बढ्दो मानव गतिविधिले यिनीहरूको संरक्षणमा चुनौती थपेको छ। लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा यस्ता दुर्लभ वन्यजन्तुको उपस्थितिले पर्यटन र जैविक विविधताको क्षेत्रमा नयाँ आशा जगाएको छ।