arrow

तरकारीका नाममा विष भित्र्याउँदै

विषादीयुक्त तरकारीको बाढी, ९५ प्रतिशतसम्म खतरनाक मात्रा पाइएपछि कडाइ

काउलीमा ९५ प्रतिशतसम्म विषादी देखिनु भनेको प्रत्यक्ष विष सेवन गर्नु सरह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
tarkari-bisadi.jpg

सुर्खेत। अत्यधिक विषादी प्रयोग गरिएका तरकारीहरू भित्रिन थालेपछि वीरेन्द्रनगर नगरपालिकाले तरकारी परीक्षणमा कडाइ गरेको छ।

दिनहुँ बजारमा विषादीयुक्त तरकारी सहजै कर्णालीवासीको भान्सासम्म पुग्ने गरेको पाइएको छ। वीरेन्द्रनगरबाट कर्णालीका अन्य जिल्लामा पनि तरकारी निर्यात हुने भएकाले यसले नागरिकको स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने भन्दै नगरपालिकाले परीक्षणलाई तीव्र बनाएको हो।

परीक्षणका क्रममा केही तरकारीमा अत्यधिक विषादीको मात्रा फेला परेको छ। दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेत भित्रिएको काउलीमा ९५ प्रतिशतसम्म अर्गानोफस्फेट विषादी भेटिएको कृषि प्रयोगशालाले जनाएको छ।

कृषि प्रयोगशालाका नायब प्राविधिक सहायक धनसिंह धामीका अनुसार सो मात्रा अत्यन्त खतरनाक हो।

“काउलीमा ९५ प्रतिशतसम्म विषादी देखिनु भनेको प्रत्यक्ष विष सेवन गर्नु सरह हो,” उनले भने।

यस्तै, बर्दियाबाट ल्याइएको टमाटरमा ५४ प्रतिशत र सुर्खेतकै कृषि बजारमा भित्रिएको काउलीमा ४६ प्रतिशत विषादी फेला परेको छ।

कृषि विज्ञहरूका अनुसार ४५ प्रतिशतभन्दा बढी विषादी देखिएका तरकारी उपभोगका लागि अनुपयुक्त हुने भएकाले नष्ट गर्नुपर्ने हुन्छ।

विशेषगरी अर्गानोफस्फेट विषादीले मानिसको स्नायु प्रणाली, प्रजनन क्षमता र मिर्गौलामा गम्भीर असर पुर्‍याउने तथा दीर्घकालीन रूपमा क्यान्सरजस्ता रोग निम्त्याउन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।

वीरेन्द्रनगर नगरपालिकाले विषादी पुष्टि भएका तरकारी बरामद गरी नष्ट गर्ने कार्य गर्दै आएको छ।

एक हप्तामा गरिएको ५० भन्दा बढी नमुना परीक्षणमध्ये अधिकांशमा विषादीको मात्रा तोकिएको सीमा भन्दा बढी पाइएको नायब प्राविधिक सहायक धामीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ