arrow

भाषा र संस्कृतिले नेपाल समृद्ध : मन्त्री तिमिल्सिना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
bikram-timilsina-24-01.jpg

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नेपाल विविध भाषा, संस्कृति र पहिचानले भरिएको समृद्ध मुलुक भएको बताएका छन् ।

गोरखापत्रको १२६औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले गोरखापत्रमा विभिन्न भाषामा सामग्री प्रकाशन हुनु गर्वको विषय भएको बताए ।

उनले नेपाललाई भाषिक र सांस्कृतिक विविधताले समृद्ध मुलुकका रूपमा चित्रण गर्दै सबै भाषाको सम्मान हुनुपर्नेमा जोड दिए।

“नेपाल भनेको विविधताले भरिएको समृद्ध मुलुक हो । भाषा कारणले पनि हामी समृद्ध छौँ। सबै भाषाको सम्मान हुनुपर्छ,” उनले भने । साथै गोरखापत्रमा विभिन्न भाषाका सामग्री प्रकाशन हुँदै जानु गर्वको विषय भएको उनले बताए ।

मन्त्री तिमिल्सिनाले गोरखापत्रको एक सय २५ वर्षभन्दा लामो इतिहास गौरवपूर्ण भए पनि वर्तमान अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरे।

उनले संस्थानले अपेक्षित प्रगति गर्न नसकेको भन्दै आगामी दिनमा सुधार आवश्यक रहेको बताए।

“गौरवपूर्ण इतिहास छ तर आजको दिनमा गोरखापत्र संस्थान कहाँ उभिएको छ भन्ने समीक्षा गर्नुपर्ने बेला आएको छ,” उनले भने ।

उनले एक सय २५ वर्षको इतिहास बोकेको संस्थाले पुग्नुपर्ने स्थानसम्म अझै नपुगेको भन्दै सुधार र मूल्याङ्कन बिना आगामी यात्रा सहज नहुने चेतावनी दिए ।

उनले सरकार मातहतका संस्थाहरूलाई प्रभावकारी बनाउन र तिनको हित तथा उन्नतिका लागि आवश्यक तयारी भइरहेको समेत बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ