काठमाडौँ । सङ्घीय संसद्को आगामी बजेट अधिवेशन अर्थात् वर्षे अधिवेशन आगामी वैशाख २८ गतेका लागि आह्वान गरिएको छ। यस अधिवेशनका लागि संसद् सचिवालयले सम्पूर्ण आवश्यक व्यवस्थापकीय तयारी पूरा भएको जानकारी दिएको छ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यस पटकको बजेट भाषण नयाँ संसद् भवनबाटै सञ्चालन गर्ने गरी विशेष तयारी भइरहेको छ।
नयाँ संसद् भवनको निर्माण कार्य पूर्ण रूपमा नसकिए पनि निर्माण पक्षले जेठ १५ गतेसम्म प्रतिनिधि सभाको सभा कक्ष उपलब्ध गराउन सकिने मौखिक प्रतिबद्धता जनाएकाले सचिवालयले संयुक्त बैठक सोही हलमा गर्ने अपेक्षा राखेको छ। हाल भवनको बाहिरी संरचना हटाउने काम सकिएर आन्तरिक सजावट र प्राविधिक पक्षको काम भइरहेको छ भने फ्लोरिङको काम सकिनेबित्तिकै सिट व्यवस्थापन मिलाइने बताइएको छ।
बजेट अधिवेशन भएकाले यस सत्रमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट नै मुख्य कार्यसूचीका रूपमा रहनेछन्। बैठकमा सबैभन्दा पहिले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थात् प्रि-बजेटमाथि छलफल हुनेछ भने त्यसपछि राष्ट्रपतिबाट सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संवैधानिक व्यवस्था छ। विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकहरूलाई यो अधिवेशनले प्रमुख प्राथमिकतामा राख्नेछ। बजेटसँग सम्बन्धित विषयबाहेक अन्य आवश्यक विधेयक र अध्यादेशहरूलाई पनि कार्यसूचीअनुसार अगाडि बढाइने प्रवक्ता गिरीले जानकारी दिएका छन्।
अधिवेशनको पहिलो बैठकमा पेस हुने अध्यादेशहरूलाई ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत कानुन बनाउनुपर्ने संवैधानिक बाध्यता छ। यदि सो अवधिभित्र प्रतिस्थापन विधेयक पारित हुन नसकेमा ती अध्यादेशहरू स्वतः निष्क्रिय हुनेछन्। हाल प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितका तीनवटा विधेयक र वैकल्पिक वित्त व्यवस्थापनसँग सम्बन्धित एउटा विधेयक विचाराधीन अवस्थामा छन्।
त्यस्तै, राष्ट्रिय सभामा अभौतिक सम्पदासँग सम्बन्धित विधेयक र विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू कार्यसूचीमा रहेका छन्। यसबाहेक प्रतिनिधि सभातर्फ नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि यसै अधिवेशनको कार्यभारको रूपमा रहेको सचिवालयले बताएको छ।