दश वर्षदेखि आफ्नो घर सम्झिएर बसोबास गरिरहेका मानिसले त केही अवधि पश्चात् अन्यत्र कुनै ठाउँमा बसोबास गर्नेछन् र आज उनीहरूले भोगेका पीडा विस्तारै बिर्सने छन्। तर आफ्नो विचार राख्न नसक्ने, उनीहरूको भाषा बुझ्ने कोही पनि फेला नपर्ने हामीसँगै बसोबास गरिरहेका भैरवका दूत लगायतका जनावरहरू आफू जहाँ बसोबास गरेका छन् त्यहीँका मानिसलाई आफ्नो सम्झिएर कयौँ वर्ष साथमै बिताए ।
आज तिनै अवोधहरू आँसु झार्दैछन् । कोही रोइकराइ गरिरहेका छन् । कोही आफ्नो मालिकको पर्खाइमा भौँतारिएका छन् भने कोही होश गुमाएको अवस्थामा भौँतारिएकाहरू भाषा बुझ्ने कोही नहुँदा सहन बाध्य छन् । हाम्रो समाजमा हामीलाई आफ्नो सम्झिएर बसोबास गरेका जनावरहरूलाई माया दिऔँ ।
हिन्दू धर्ममा भैरवको बाहन तथा दूतको रुपमा परिचित कुकुर नाम दिएका हजारौँ प्राणीले नेपालमा पाउनसम्मको दुःख पाएका छन्। धेरै अगाडिबाटै मानिसहरूले आफ्नो खुशीका लागि केही समय आफ्नो घरमा पालिए अनि मालिकहरूको क्षणिक क्रोधका कारण घरबाट निकालिन बाध्य भए ।
उनीहरू आज मानिसको बस्ती वरिपरि आफ्नो स्थान बनाउनका लागि मेहनत गरिरहेका छन् । बाटोमा छाडिएकाहरूको चित्कार विगतको तुलनामा कयौँ गुणा बढ्दै गएको छ ।
हाम्रै समाजमा हामीसँगै बस्न चाहने ती अवोधहरूको व्यवस्थापन गर्न ढिला भैसकेको छ। केही मनकारीहरूले बिहान बेलुका वितरण गर्ने खानाको पर्खाइमा रहेर दैनिकी चलाइरहेका जनावारहरूको हकहितका लागि पनि सरकारले ध्यान दिनुपर्छ। यी प्राणीको व्यवस्थापन ढिला भएमा पापको हिस्सा बढ्दै जानेछ।
गरिबीका कारण आज धेरै मानिसहरू आफ्ना खाना र वासस्थानका लागि तल्लिन भएको अवस्थामा ती अवोधहरूको चित्कार सुन्नका लागि फुर्सद पाएका छैनन् ।
सरकारले जसरी सहर व्यवस्थित गर्नका लागि खोलानाला वरिपरि बसोबास गरिरहेका मानिसको व्यवस्थापनको थालनी गरेको छ । समान गतिमा खाना र बासका लागि यत्र तत्र भौँतारिरहेका जनावरको व्यवस्थापन गर्न ढिला नगरोस् ।
गरिबी भगवानले गर्ने एक क्षणिक परीक्षण हो भन्ने लाग्थ्यो तर मानिसहरू झनै बढी गरिब हुँदै जाँदा भैरवका दूतहरूले खाना खाने पालो लम्बिँदै गएको छ। यी जनावरलाई बेवास्ता गरेमा अवश्य पाप लाग्ने छ। कलियुगमा पापको हिस्सा यही जीवनमा सबैले चुक्ता गर्नु पर्ने छ ।
भैरवका दूतहरू आज भोकले रुँदैछन्।
मालिकको पर्खाइमा रुँदैछन् ।
आफ्नो भावना बुझाउन नपाएर रुँदैछन् ।
मानिसहरूको हेपाईबाट रुँदैछन् ।
बाटोमा छोडिएको पीडाले रुँदैछन् ।
आफू भन्दा बलियाबाट टोकिँदा रुँदैछन्।
पानी परेको दिन भिजेर रुँदैछन्।
यो कलियुगहो, हामी सबैलाई पाप लाग्छ ।