arrow

अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य परीक्षण र परिचयपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २६ शनिबार
apanga-id-surkhet.jpg

सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिकाले नागरिकको घरदैलोमै सेवा पुर्याउन शिविर सञ्चालन गरेको छ । वैशाख २२ गतेदेखि सञ्चालन भएको शिविर २५ गते सकिएको हो। शिविरमा पालिकाका विभिन्न वडामा गएर अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच र परिचयपत्र वितरण गरिएको बताइएको छ ।

स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका, वडा कार्यालय र पालिकामा जान नसक्ने अपाङ्गता भएका व्यक्तिका लागि पायक पर्ने स्थानमा शिविर सञ्चालन गरिएको बराहताल अपाङ्गता समन्वय समिति संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले बताइन् ।

‘कतिपय बस्तीहरू पालिकादेखि धेरै टाढा रहेका छन’, उनले भनिन्, ‘पालिकासम्म पुग्दा अपाङ्गता भएका व्यक्तिहरूले भोग्नु परेका सास्तीलाई मध्यनजर गर्दै घरदैलोमै सेवा पुर्याइएको हो ।’

नागरिकले घर आँगनमै स्थानीय सरकार आएको थप अनुभूति गर्न पाउन भनेर कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष पुनले बताइन् ।

अपाङ्गता भएका नागरिकले स्वास्थ्य संस्थामा गएर सेवा लिन नसक्ने अवस्था भएपछि घरदैलो कार्यक्रम थालिएको उनको भनाइ छ ।

‘नागरिकले सहज रुपमा सेवा लिन पाउनु पर्छ भन्नेमा स्थानीय सरकार प्रतिबद्ध छ’, उनले भनिन्, ‘त्यसैले हामी तपाईंहरूको घर बस्तीमै आएका हौँ ।’ उनले नागरिकका समस्या समाधान गर्न सरकार प्रतिबद्ध भएको बताइन् ।

बराहताल-४ की ६५ वर्षीया हरिकला पाण्डेले गाउँमै अपाङ्गता परिचयपत्र नवीकरण गर्न पाउँदा खुशी लागेको बताइन् ।

‘पालिकामा जान समस्या हुन्थ्यो । पैसा पनि खर्च हुन्थ्यो’, उनले भनिन्, ‘घर नजिकै परिचय पत्र नवीकरण र स्वास्थ्य जाँच गराउनु पाउँदा खुशी लाग्यो।’

बूढेसकालमा अशक्त मानिसहरुलाई पालिकामा पुगेर परिचयपत्र लिन तथा टाढाको स्वास्थ्य चौकीमा गएर उपचार गर्न निकै कठिनाइ भएको बेला गाउँमै आएर उपचार र सेवा लिन थालेपछि सरकार घरआँगनमै आएको महसूस उनले बताइन् ।

गाउँपालिको यो अभियानबाट पालिकाभित्रका तीन सय ४० जनाको स्वास्थ्य परीक्षण गरिएको, २४ जना अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र प्रदान गरिएको बराहताल स्वास्थ्य शाखाका सिनियर अहेव नारायण भट्टराईले जानकारी दिए ।

अभियानमा अपाङ्ता भएका व्यक्तिको स्वास्थ्य परीक्षण र अपाङ्ता परिचयपत्र वितरण गरिएको र डा.रहिस कोजुसहित पालिकाको स्वास्थ्य शाखाको टिमले स्वास्थ्य परीक्षण गरेको उनले बताए ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजिमान बूढा, कार्यपालिका सदस्य डीला सारुलगायतको सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ