arrow

प्रतिपक्ष दलहरुलाई रास्वपाको जवाफः सरकारले संसदीय व्यवस्थाको उन्नत अभ्यास गरिरहेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
ganesh-parajuli.jpg

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान सरकारले संसदीय व्यवस्थाको उन्नत अभ्यास गरिरहेको दाबी गरेका छन्। प्रतिपक्षी दलहरूले सरकारको संसदीय प्रतिबद्धतामाथि प्रश्न उठाइरहेका बेला मंगलबार संसद्मा बोल्दै उनले यस्तो बताएका हुन्।

उपनेता पराजुलीले विगतमा राजनीतिक दलहरूले विद्यालय र शिक्षा क्षेत्रलाई कार्यकर्ता उत्पादन गर्ने थलो बनाएको आरोप लगाए। उनले अबको पुस्ताले राष्ट्र निर्माणका लागि सक्षम नागरिक चाहेको उल्लेख गर्दै सरकारले सबै क्षेत्रबाट दलीयकरण हटाउने अभियान सुरु गरेको जिकिर गरे। "अब दलका कार्यकर्ता बनाउने सपना देखेर सबै ठाउँमा दलीयकरण गर्ने दिन गए," उनले भने, "यो सरकारले कर्मचारीतन्त्र र सेवा प्रवाहका निकायहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन चाहेको छ।"

सरकारले 'इकोनोमिक डिपाचर' अर्थात् आर्थिक छलाङ मार्ने सपना बोकेको बताउँदै उनले सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको उल्लेख गरे। रास्वपाले निर्वाचनका बेला जनतासँग गरेको वाचाअनुसार नै सरकार अघि बढिरहेको उनको तर्क थियो।

उनले थपे, "हाम्रो पाँच बुँदे करारनामाको पहिलो बुँदा नै सुशासन हो। हामीले यही व्यवस्थाभित्रै रहेर यसको उन्नत अभ्यास गर्दै सुशासन कायम गर्छौँ भनेर वाचा गरेका थियौँ, जसको अनुभूति अहिले जनताले गर्न थालिसकेका छन्।"

पराजुलीले सेवा प्रवाहका सबै क्षेत्रलाई दलीयकरणबाट पूर्ण रूपमा मुक्त राख्दै सुशासनको जगमा समृद्धिको यात्रा तय गर्ने सरकारको दृढ संकल्प रहेको समेत स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ