तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण शुरू
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
414
Shares
काठमाडौँ । तनहुँको देवघाट गाउँपालिका–४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण कार्य शुरू भएको छ। नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालिसँग ठेक्का सम्झौता गरी काम अघि बढाएको हो।
विसं २०८० फागुनमा ठेक्का सम्झौता भए पनि विस्फोटक पदार्थ प्रयोगको स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण केही समय प्रभावित भएको निर्माण कार्य हाल आवश्यक अनुमति प्राप्त भएपछि सुचारु भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले बताए। यो प्रवेश सुरुङ आयोजनाको मुख्य संरचना निर्माणका लागि आवश्यक भूगर्भीय अध्ययन, अन्वेषण र पहुँच मार्गका रूपमा निकै महत्वपूर्ण रहनेछ।
पिकिङ रन अफ द रिभर प्रकृतिको यो अर्धजलाशययुक्त आयोजनाबाट वार्षिक ५२० दशमलव ७८ करोड युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनाको ३२ मिटर अग्लो बाँध बन्दीपुर गाउँपालिकाको सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ, जसले करिब १२ दशमलव ७ किलोमिटर लामो जलाशय बनाउनेछ। सञ्चित पानीलाई ६ दशमलव ७५ किलोमिटर लामो सुरुङमार्फत देवघाटको गाईघाटस्थित अर्धभूमिगत विद्युत् गृहमा पुर्याइने योजना छ।
एसियाली विकास बैंकको अनुदान सहयोगमा विस्तृत परियोजना प्रतिवेदन तयार भएको यस आयोजनाको अनुमानित लागत २२७ मिलियन अमेरिकी डलर रहेको छ, जसमा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी गर्ने निर्णय प्राधिकरणले गरिसकेको छ।
विद्युत् गृह तथा कर्मचारी आवासका लागि करिब १४६ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढिसकेको छ भने माथिल्लो क्षेत्रमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट निस्कने पानीलाई पूर्ण उपयोग गर्ने भएकाले यसलाई महत्वपूर्ण 'क्यास्केड' आयोजनाका रूपमा हेरिएको छ। आयोजना सञ्चालनमा आएपछि हिउँदमा समेत दैनिक न्यूनतम ६ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिनेछ।
काठमाडौँ र भरतपुर जस्ता प्रमुख लोड सेन्टरहरू नजिक रहनु र तनहुँ जलविद्युत् आयोजनाकै प्रसारण लाइन प्रयोग गर्न सकिने हुनाले यो आयोजना व्यावसायिक र प्राविधिक दृष्टिले निकै उपयुक्त रहेको छ। हाल वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिको अन्तिम चरणमा रहेको र दातृ निकायहरूसँग वित्तीय सहयोगका लागि पहल भइरहेको आयोजनाले जनाएको छ।