विपक्षीको अवरोधमा रास्वपाको कटाक्ष - प्रधानमन्त्रीको अनुहार हेर्ने मात्रै हो र ? [भिडियो]
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्छ भन्ने छैन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
600
Shares
काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र साहह (बालेन) को अनिवार्य उपस्थितिको माग गर्दै संसद् अवरुद्ध पारिरहँदा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्यसको प्रतिवाद गरेको छ। रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको अनुपस्थितिमा पनि नीति तथा कार्यक्रममाथि छलफल हुन सक्ने जिकिर गरेका छन्।
प्रमुख सचेतक बुर्लाकोटीले संसदीय नियमावलीमा प्रधानमन्त्रीको उपस्थितिबिना छलफल गर्न मिल्दैन भन्ने कतै उल्लेख नभएकोतर्फ विपक्षीको ध्यानाकर्षण गराए। "कुनै पनि नियममा प्रधानमन्त्री स्वयं यो छलफलमा आउनुपर्ने व्यवस्था छैन," उनले भने, "प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भन्ने सहमति गरेरै हामी दोस्रो बैठकमा आएका हौँ।"
उनले विपक्षी दलहरूले अनावश्यक अडान लिएको भन्दै व्यङ्ग्य समेत गरे। "कि त प्रधानमन्त्रीको अनुहार नै हेर्ने हो भन्ने हुनुपर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ," बुर्लाकोटीले थपे, "टेबुल गर्न दिने तर छलफलमा नजाने भन्ने कुरा तर्कसङ्गत छैन।"
रास्वपाले कार्यसूचीमा अर्थमन्त्रीलाई प्रस्ताव पेश गर्न अनुमति दिइएको अवस्थामा छलफल रोक्नु संसदीय अभ्यासको विरुद्ध हुने तर्क गरेको छ। विपक्षीले भने कार्यकारी प्रमुखको जवाफदेहिता खोज्दै सदनलाई दबाबमा राखेका छन्।