arrow

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्को सन्त्रास, एकै वर्षमा १० ठूला घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
tilicho-peak-nilgiri-himal.jpg

काठमाडौँ ।  जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रका आठ देशमध्ये भारत, नेपाल, बङ्गलादेश र भुटानले सन् २०२५ मा मात्रै १० भन्दा बढी ठूला विपद्का घटनाहरूको सामना गरेका छन्। म्यानमार, पाकिस्तान र चीनमा पनि मनसुनजन्य बाढीको शृङ्खलाले पूर्वाधार र जीविकोपार्जनमा व्यापक क्षति पुर्‍याएको छ। 

सन् २०२४ मा मात्र यस क्षेत्रका देशहरूले बाढी, पहिरो र आँधीजस्ता पानीजन्य विपद्बाट ६ अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति व्यहोरेका थिए भने सन् २०२५ मा विश्वव्यापी रूपमा भएको १६९ अर्ब डलरको विपद् क्षतिमा एसियाली क्षेत्रको ठूलो हिस्सा रहेको छ। यस वर्ष तीव्र मनसुनी वर्षा र हिमताल विस्फोटजन्य बाढीका कारण यस क्षेत्रका करिब १२ लाख नागरिक विस्थापित वा प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

अनुसन्धानकर्ताहरूले हिमालय क्षेत्रमा बाढी, पहिरो वा खडेरीजस्ता एकभन्दा बढी विपद् एउटै समयमा हुने 'बहुविपद्' को प्रवृत्ति बढ्दो क्रममा रहेको औँल्याएका छन्। इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोका अनुसार यस्ता घटनाले घर, पूर्वाधार र अत्यावश्यक सेवामा हुने क्षतिलाई अझ भयावह बनाइरहेका छन्। यद्यपि, सन् २०१३ पछिको दीर्घकालीन तथ्याङ्कले विपद्का कारण हुने मृत्युदर र प्रभावित नागरिकको सङ्ख्यामा भने केही कमी आएको देखाएको छ। 

यसको मुख्य कारण पूर्वतयारी र प्रारम्भिक चेतावनी प्रणालीमा गरिएको सुधारलाई मानिएको छ। जलविज्ञ मनिष श्रेष्ठका अनुसार जोखिम बढे पनि पूर्वतयारीका कारण मानवीय क्षति कम हुनु सकारात्मक सङ्केत हो। नेपालको पूर्वी क्षेत्रमा सन् २०२४ मा खाँदो नदी किनारमा जडान गरिएको पूर्वसूचना प्रणालीले करिब ६० हजार नागरिकलाई सुरक्षित स्थानमा सार्न सहयोग पुर्‍याएको सफल उदाहरण रहेको छ।

इसिमोडकी जलविभाग प्रमुख निरा श्रेष्ठ प्रधानले स्थानीय नेतृत्वमा सञ्चालित कम लागतका चेतावनी प्रणालीहरूले वास्तविक समयमा सूचना प्रदान गरी धनजनको रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएकी छन्। हिन्दूकुश हिमालय क्षेत्र करिब ३,५०० किलोमिटरमा फैलिएको र दुई अर्ब नागरिकको खाद्य, पानी तथा ऊर्जा सुरक्षाका लागि महत्त्वपूर्ण रहेकाले यसको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। 

जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको क्षतिका कारण यो क्षेत्र अत्यधिक जोखिममा रहेकाले विशेषज्ञहरूले आगामी वर्षहरूमा बहु–विपद्को जोखिम अझ बढ्न सक्ने चेतावनी दिँदै निरन्तर लगानी र पूर्वतयारीमा जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ