सत्तापक्ष र प्रतिपक्षले दलीय चस्मा फुकालेर गुण–दोषका आधारमा निर्णय गरौँ: सांसद आचार्य
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
610
Shares
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले प्रतिपक्षका रचनात्मक र आवश्यक सुझावहरूलाई सरकारले हुबहु अस्वीकृत गर्ने परिपाटी उदेकलाग्दो रहेको टिप्पणी गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा 'प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३' माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
सांसद आचार्यले प्रतिपक्षले पनि सरकारले ल्याएका राम्रा नीति तथा कार्यक्रमलाई केवल विरोधका लागि 'कर्मकाण्डी' भन्ने र सत्तापक्षले प्रतिपक्षका राम्रा प्रस्तावलाई पनि अस्वीकार गर्ने गलत भाष्यको अन्त्य हुनुपर्नेमा जोड दिए। यसका लागि नयाँ नियमावलीले स्पष्ट व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
बैठकमा बोल्दै सांसद आचार्यले भने, “सत्तापक्षको अवस्था पनि उदेकलाग्दो छ। प्रतिपक्षले जतिसुकै रचनात्मक र आवश्यक संशोधन किन नराखोस्, त्यसको गुण र दोषमाथि सार्थक छलफल नगरी ती हुबहु अस्वीकृत हुन्छन्। प्रतिपक्षको संशोधन स्वीकार गर्दा सरकारको दस्तावेज बिटुलो हुन्छ भन्ने जुन एउटा अघोषित र गलत भाष्य यहाँ स्थापित छ, अब त्यसलाई तोड्नुपर्दछ। म बुझ्दछु– सरकार निर्माण, बजेट, अध्यादेश जस्ता केही आधारभूत प्राविधिक विषयहरूमा दलको ह्विप अनिवार्य हुन्छ र त्यहाँ कित्ताकाट जरुरी पनि हुन्छ। तर, त्यो विषयभन्दा पर कानुन निर्माण र जनजीविकाको सवालमा सत्तापक्ष र प्रतिपक्ष दुवैले दलीय चस्मा फुकालेर गुण र दोषको आधारमा निर्णय गर्न सक्ने पद्धति यो नियमावलीले समेटोस्।”
सांसद आचार्यले संसद्मा कानुन निर्माण र जनजीविकाका गम्भीर सवालहरूलाई राजनीतिक दलगत आधारमा मात्र नहेरी विषयको गम्भीरता र आवश्यकताका आधारमा निर्णय गर्न सक्ने गरी संसद्लाई अगाडि बढाउनुपर्ने धारणा राखे।