प्रि-बजेट जनतासँग गरिएको प्रतिबद्धता कार्यान्वयनको इमानदार प्रयास हो : अर्थमन्त्री वाग्ले
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
414
Shares
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) लाई जनतासँग गरिएको प्रतिबद्धता कार्यान्वयनका लागि गरिएको इमानदार प्रयासको रूपमा बुझिदिन सांसदहरूलाई आग्रह गरेका छन्।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा सो विधेयकको सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो आग्रह गरेका हुन्। अर्थमन्त्री वाग्लेले यस विधेयकमा वर्तमान सरकारको मात्र नभई संसद्मा रहेका विभिन्न राजनीतिक दलहरूले निर्वाचनका बेला आफ्ना घोषणापत्रमा उल्लेख गरेका जनपक्षीय विषयवस्तुहरूलाई समेत समेट्ने प्रयास गरिएको बताए।
यो विधेयक कुनै एउटा दल वा सरकारको मात्र दृष्टिकोण नभएर संविधान, आवधिक योजना, दिगो विकासका लक्ष्य र नेपाली जनताले व्यक्त गरेका साझा आकाङ्क्षाहरूको प्रतिविम्ब भएको जिकिर उनले गरे।
प्रतिनिधिसभा बैठकमा उनले भने, “यो विधेयकले केवल सरकारको दृष्टिकोणको मात्रै प्रतिनिधित्व गर्दैन। यसले संविधानको निर्देशक सिद्धान्त, योजना, दिगो विकास, विभिन्न राजनीतिक दलका घोषणापत्र तथा नेपाली जनताले व्यक्त गरेका साझा आकाङ्क्षालाई समेट्ने प्रयास गरेको छ। जनतासँग गरिएका प्रतिबद्धतालाई कार्यान्वयनमा रूपान्तरण गर्ने इमानदार प्रयत्नका रूपमा यसलाई ग्रहण गरिदिन म यस सम्मानित सदनसमक्ष आग्रह गर्दछु।”
त्यस अवसरमा अर्थमन्त्री वाग्लेले राजनीतिक मतभिन्नताभन्दा माथि उठेर देशको आर्थिक विकास र राष्ट्र निर्माणको बृहत्तर बहसमा केन्द्रित हुन र रचनात्मक सहयोग गर्न सबै दलका सांसदहरूलाई आह्वान समेत गरे।