arrow

रास्वपा सांसद अन्सारीले जनाए प्रतिक्रिया, भन्छन् - लखेटिएको हैन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ९ शनिबार
rohober-ansari-bara.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रहबर अन्सारीले बाराको कलैयामा आयोजित पार्टीको बैठकमा सामान्य विवाद मात्र भएको तर आफूहरूलाई ‘लखेटिएको’ भन्ने कुरा पूर्णतः झुटो भएको बताएका छन्। अन्सारीले केही मिडियाले नियोजित रूपमा हिँडिरहेको दृश्यलाई कैद गरेर घटनालाई अतिरञ्जित गरेको बताएका हुन्।

सांसद अन्सारीका अनुसार केन्द्रीय समितिको सर्कुलर बमोजिम जिल्ला अधिवेशनका लागि सुझाव सङ्कलन गर्न रास्वपाको टोली बारा पुगेको थाहा भएको छ। कार्यक्रममा पार्टीबाट निष्कासित (कारबाहीमा परेका) केही पूर्वनेता तथा व्यक्तिहरूले होहल्ला र सामान्य विवाद झिक्ने प्रयास गरेका थिए।

जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले बैठकमा विवाद झिकेका थिए। पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय गरेको थियो। सोही विषयलाई लिएर शनिबारको कार्यक्रममा उपस्थित सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहमाथि केही कार्यकर्ताहरूले आक्रोश पोखेका थिए ।

तनाव उत्पन्न हुन नदिनका लागि काठमाडौँबाट पुगेका अतिथिहरूलाई प्रहरीले सुरक्षित रूपमा नजिकैको कोठामा बस्नका लागि लगेको थियो। सोही हिँडिरहेको दृश्यलाई केही पार्टी निकट मिडियाहरूले 'लखेटिएको' भन्दै गलत प्रचार गरेको अन्सारीको भनाइ छ।

उनले भने, “नियोजित रूपमा केही पार्टी निकटका मिडियाहरूले घटनालाई अतिरञ्जित गर्न खोजे। हिँडिरहेको दृश्यलाई कैद गरेर लखेटिएको भनेर मिडियाबाजी मात्र भएको हो। अहिले सबै विवाद समाधान भइसक्यो र कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ