arrow

तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
Accident-sign.jpg

काठमाडौँ । नेपालमा गत वैशाख महिनामा भएका कुल सवारी दुर्घटनामध्ये आधाभन्दा बढी दुर्घटना तीव्र गतिका कारण भएको पाइएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख महिनामा देशभर कुल दुई हजार २९४ वटा सवारी दुर्घटनाहरू भएका थिए । जसमध्ये एक हजार २५३ वटा दुर्घटना तीव्र गतिका कारण मात्रै भएका हुन्। 

यसबाहेक अन्य दुर्घटनाहरूमा चालकको असक्षमताका कारण १३७, हतारमा बाटो काट्दा १३३, मादक पदार्थ सेवनका कारण ११२ र अनावश्यक ओभरटेक गर्दा ४६ वटा दुर्घटना भएका छन्। यी समग्र दुर्घटनाहरूमा ३ हजार ३३४ वटा सवारी साधनहरू संलग्न थिए, जसमा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेको प्रहरी तथ्याङ्कले देखाउँछ।

वैशाख महिनामा भएका दुर्घटनाहरूले ठुलो मानवीय क्षति पुर्‍याएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी कुल २३९ जनाको मृत्यु भएको छ, जसमा १५८ पुरुष, ५४ महिला र २७ बालबालिका रहेका छन्। यसैगरी, दुर्घटनाहरूमा परेर ७५२ जना गम्भीर रूपमा घाइते भएका छन् भने ३ हजार २२० जनाले सामान्य चोटपटक व्यहोरेका छन्।

दिनभरिको समय तालिका हेर्दा साँझ ६ बजेदेखि मध्यराति १२ बजेसम्मको अवधिमा सबैभन्दा बढी दुर्घटना हुने गरेको पाइएको छ। सो समयमा ८५९ वटा दुर्घटना भएका थिए। यस्तै मध्याह्न १२ देखि साँझ ६ बजेसम्म ८५०, बिहान ६ देखि मध्याह्न १२ बजेसम्म ५०६ तथा मध्यराति १२ बजेदेखि बिहान ६ बजेसम्म ७८ वटा दुर्घटना भएको प्रहरी तथ्याङ्कले जनाएको छ।

ट्राफिक नियम उल्लङ्घन गर्नेहरू विरुद्ध प्रहरीले वैशाख महिनामा देशव्यापी रूपमा कडा कारबाही अभियान चलाएको थियो। यस अवधिमा नियम उल्लङ्घन गर्ने १ लाख ३७ हजार ९४ वटा सवारी साधनलाई कारबाही गरिएको छ। सो कारबाहीबापत कुल ११ करोड ८२ लाख ७४ हजार १८९ रुपैयाँ राजस्व असुली भएको प्रहरीले जनाएको छ।

यसैबिच, पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी थप तीन जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन्। मृत्यु हुनेहरूमा बागमती प्रदेशमा दुई जना र काठमाडौँ उपत्यकामा एक जना रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ