arrow

जलवायु परिवर्तन

सगरमाथाको प्राकृतिक स्वरूप जीवन्त राख्न र हिमाली वातावरण संरक्षण गर्न राष्ट्रपतिको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १३ बुधबार
ramchandra-poudel-12.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न सरोकारवालाहरूसमक्ष आग्रह गरेका छन्। मे २९ अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा विश्वभरका पर्वतारोहीहरूको उपस्थितिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन्।

सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर राष्ट्रको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसको संरक्षण र सन्तुलित उपयोगबाट मात्र पर्यटन क्षेत्रमार्फत मुलुकको अर्थतन्त्रमा दिगो टेवा पुग्ने धारणा व्यक्त गरे। उनी भन्छन्, "जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा बढ्दो फोहोर जस्ता समस्या अहिले ठुलो चुनौती बनेका छन्। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आवश्यक छ।"

राष्ट्रपति पौडेलले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न चुनौतीहरूप्रति गम्भीर चिन्ता व्यक्त गरे। सगरमाथासहित हिमाली क्षेत्रको बहुआयामिक पक्षबारे सार्थक छलफल गर्न र अन्तर्राष्ट्रिय सहकार्य तथा संवाद वृद्धि गर्न यस्ता सम्मेलनको विशेष महत्त्व रहने उनले बताए। दिगो हिमाली पर्यटन र जिम्मेवार पर्वतारोहण आजको प्रमुख आवश्यकता भएको बताउँदै उनले यस सम्मेलनले पर्वतारोहणका क्रममा प्राप्त ज्ञानलाई सगरमाथाको जीवन्तताका लागि उपयोग गर्ने विश्वास व्यक्त गरे।

सन् १९५३ मा साहसी पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेसँगै सुरु भएको पर्वतीय पर्यटनको ऐतिहासिक महत्त्वबारे कार्यक्रममा चर्चा गरिएको थियो। राष्ट्रपति पौडेलले पर्वतारोहणको माध्यमबाट नेपालको नाम विश्वभर फैलाउन अतुलनीय योगदान दिने कीर्तिमानी आरोही तथा शेर्पा समुदायप्रति विशेष सम्मान समेत प्रकट गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ