अर्थ मन्त्रालय रातभर जाग्नाम, कस्तो ल्याउला बजेट ?
शुक्रबार अपराह्न ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
1k
Shares
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले बजेट प्रस्तुत गर्दैछ ।
निर्वाचनका क्रममा सो पार्टीले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने बताइएको छ ।
सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई बजेटको केन्द्रमा राखिएको छ । यही जेठ १५ गते गणतन्त्र दिवसको दिन सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अपराह्न ४ः०० बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि रु १८ खर्ब ९० अर्ब बराबरको बजेट सिलिङ तय गरेको थियो । सरोकारवाला निकायको सुझावलाई बजेटमा यथेष्ट स्थान दिइएको बताइएको छ । चालु आवको बजेट रु १९ खर्ब ६४ अर्ब बराबरको थियो ।
गत भदौ २३ र २४ मा भएको आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार रु १६ खर्ब ८८ अर्ब बराबर बनाएका थिए ।
नेपाल फोटो लाइब्रेरीले तस्बिरहरू कैद गर्दा बिहीबार बिहान (बुधबार मध्यरातपछि) पौने १ बजिसकेको थियो । सुनसान सिंहदरबारभित्र अर्थ मन्त्रालय भने अझै उज्यालो थियो । मन्त्रालयको मूल भवनबाट अर्थमन्त्री स्वर्णिम वाग्ले र कर्मचारीहरू रात अबेर बाहिर निस्किरहेका देखिन्छन् ।
कोही फाइल बोकेर हतारिँदै छन्, कोही मोबाइलमा कुरा गर्दै हरेक वर्ष जेठ १५ नजिकिँदै जाँदा सिंहदरबारभित्रको माहोल फेरिन्छ ।
दिनभर बैठक, छलफल र चहलपहलमा व्यस्त हुने अर्थ मन्त्रालय रात परेपछि अझ बढी जागा हुन्छ। मन्त्रालयका कर्मचारी र अधिकारीहरू अन्तिम तयारीमा जुट्दा कति हस्याङफस्याङ हुँदो हो भनेर देख्न सकिन्छ ।
मन्त्रालयका अधिकांश झ्यालहरू रातभर उज्यालै थिए । भित्र कर्मचारीहरू कागजात, तथ्यांक र योजनामाथि गहिरो छलफलमा व्यस्त देखिन्थे । मन्त्रालयका कोरिडोरहरूमा राति अबेरसम्म चहलपहल सुनिन्थ्यो, बैठक कक्षहरूमा निरन्तर छलफल चलिरहेको थियो ।
बजेट केवल अंकहरूको हिसाब होइन, यो सरकारको प्राथमिकता, जनताको अपेक्षा र देशको भविष्यसँग जोडिएको दस्तावेज हो। त्यसैले हरेक वर्ष सरकार फेरिए पनि, अनुहार फेरिए पनि, बजेट लेख्ने यो दबाब र दौडधूप उस्तै रहन्छ ।
नयाँ सरकारसँगै नयाँ आशा जन्मिन्छ। व्यवसायी कर नीति हेर्न आतुर हुन्छन्, किसान अनुदान र राहतको अपेक्षामा हुन्छन्, युवा रोजगारी र अवसर खोजिरहेका हुन्छन् भने विकास निर्माणको गति कस्तो होला भन्ने चासो आम नागरिकमा रहन्छ ।
बजेट सार्वजनिक हुँदै गर्दा जताततै एउटै प्रश्न सुनिन्छ “यसपालिको बजेटले केही नयाँ आशा दिन्छ त ?”