arrow

मुस्ताङमा लेक लागेर नौ विदेशीसहित १३ पर्यटकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
mustang-tourists-82-9-17w.jpg

काठमाडौँ ।  पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको उच्च उचाइमा रहेको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साढे १० महिनामा मृत्यु हुने पर्यटकमध्ये नेपालीतर्फ तीन पुरुष र एक महिला तथा विदेशी पर्यटकतर्फ सात पुरुष र दुई महिला रहेका छन्। धार्मिक तीर्थाटनका लागि मुस्ताङ आएका यी पर्यटकहरू वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा लेक लागेर बिरामी परेपछि प्रदेश अस्पताल जोमसोममा उपचार गराउने क्रममा मृत्यु भएको हो। प्रहरीको तथ्याङ्कअनुसार मुस्ताङमा हाइअल्टिच्युडका कारण लेक लागेर मृत्यु हुनेमा बढी मात्रामा भारतीय पर्यटक रहेका छन्।

बेँसीको समथरिलो स्थानबाट हिमाली जिल्ला मुस्ताङको पर्वतीय क्षेत्रमा आउने पर्यटकले पर्याप्त मात्रामा आवश्यक स्वास्थ्य सावधानी र सतर्कता अपनाउन नसक्दा यो समस्या देखिएको हो। समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको उच्च उचाइमा अक्सिजनको लेभल कम हुने भएकाले यहाँ आउने पर्यटकमा लेक लाग्ने (हाइअल्टिच्युड) जोखिम रहने गर्दछ। विशेषगरी शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूमा यो समस्या बढी देखिने गरेको छ। विभिन्न ट्राभल एजेन्सीहरूले पर्यटकलाई बाटोमा 'होल्डिङ' नगरी (वातावरणसँग घुलमिल गराउन विश्राम नदिई) एकैपटक गन्तव्यमा पुर्‍याउने परिपाटीले गर्दा पनि लेक लाग्ने समस्या अझ जटिल बनेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

हाइअल्टिच्युडको जोखिम कम गर्न र पर्यटकको स्वास्थ्य रक्षाका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय, एक्याप, मुक्तिनाथ विकास समिति, स्थानीय तह र सुरक्षा निकायले यससम्बन्धी विभिन्न सचेतना अभियान चलाउँदै आएका छन्।

एक्यापका प्रमुख राजेश गुप्ताका अनुसार म्याग्दी र मुस्ताङको सिमाना थासाङ–४ घाँसादेखि मुक्तिनाथसम्म पर्यटकीय चहलपहल हुने विभिन्न स्थानमा सचेतनामूलक साइन बोर्डहरू राखिएका छन्। त्यस्तै प्रदेश जनस्वास्थ्य कार्यालयले पनि हाइअल्टिच्युडसम्बन्धी साइन बोर्ड तथा ब्रोसरहरू छपाएर पर्यटकलाई वितरण गरिरहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङले जानकारी दिइन्।

पर्यटकको सुरक्षाका लागि वारागुङ–१ मुक्तिक्षेत्रका सबै होटलहरूमा पोर्टेबल अक्सिजन सिलिन्डर र लेक नलाग्ने औषधिको व्यवस्थापन गरिएको मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले बताए। यसका साथै दर्शनार्थीहरूको उपचारका लागि प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्रको समन्वयमा मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने सिँढीबाटोमा गरी दुई स्थानमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ स्थापना गरेर सेवा प्रवाह भइरहेको वारागुङ मुक्तिक्षेत्रका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ