भेप र हुक्काको भ्रममा नपर्न स्वास्थ्य मन्त्रीको आग्रह
नेपालमा सुर्तीजन्य पदार्थबाट वार्षिक ३९ हजारको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
397
Shares
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्दर्भमा आज एक सन्देश जारी गर्दै सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छन्। उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैका दिनदेखि यसलाई त्याग्ने सङ्कल्प गर्न समेत आह्वान गरेकी छन्।
मन्त्री मेहताले आफ्नो सन्देशमा भनेकी छन्, “सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन हुन सक्छ, तर दृढ इच्छाशक्ति, परिवारको साथ र स्वास्थ्यकर्मीको सही परामर्शले यो पूर्णरूपमा सम्भव छ।”
आधुनिक र फरक देखिने नाममा भेप (इ–सिगरेट) र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको प्रयोग र प्रलोभनमा नपर्न मन्त्री मेहताले आग्रह गरेकी छन्। इ–सिगरेट, भेप र हुक्कामा पनि परम्परागत सुर्तीजन्य पदार्थमा जस्तै हानिकारक निकोटिन र विषाक्त तत्व हुने भएकाले यस विषयमा कुनै भ्रममा नपर्न उनले अनुरोध गरिन्। सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुन चाहनेहरूका लागि मन्त्रालयले सहयोग र परामर्श उपलब्ध गराउने प्रतिबद्धता समेत उनले व्यक्त गरेकी छन्।
सुर्तीजन्य पदार्थको प्रयोग हाल गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा परिरहेको सन्देशमा उल्लेख छ। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा अझै पनि करिब २९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थको सेवन गरिरहेका छन्। देशमा हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थकै सेवनका कारण हुने गरेको तथ्याङ्क अत्यन्त दुःखद र चिन्ताको विषय बनेकाले यसको लत छोड्न मन्त्री मेहताले विशेष जोड दिएकी छन्।
किशोर–किशोरीहरूलाई लक्षित गरी सुर्ती उद्योगले अपनाएका नयाँ रणनीतिहरूलाई मन्त्री मेहताले मुख्य चुनौतीका रूपमा औँल्याएकी छन्। विभिन्न स्वादमा पाइने, हेर्दा आकर्षक र आधुनिक देखिने सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनहरूलाई सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण बजारीकरण गर्ने काम भइरहेको भन्दै उनले सुर्ती उद्योगहरूलाई मानव स्वास्थ्यप्रति गम्भीर बन्न आग्रह गरेकी छन्। यस्ता गतिविधिले समस्यालाई झनै गम्भीर बनाएकाले सुर्तीजन्य पदार्थको उपभोगलाई निरुत्साहित गर्न सबै लाग्नुपर्ने भनाइ छ।
सुर्तीजन्य पदार्थका विद्यमान चुनौतीहरूको सामना गर्न सरकारले नियन्त्रण र नियमनसम्बन्धी कानुनी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएको मन्त्री मेहताले स्पष्ट पारेकी छन्।
नेपालमा आज ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँ; कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने मूल नाराका साथ विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदै छ।