अनिल झा नेतृत्वको सद्भावना पार्टी कांग्रेसमा समाहित
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
2.9k
Shares
काठमाडौँ । अनिल कुमार झा नेतृत्वको राष्ट्रिय सद्भावना पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ।
ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष झालगायतका नेताहरू कांग्रेसमा प्रवेश गरेका हुन्।
कार्यक्रममा कांग्रेस सभापति गगन कुमार थापाले अध्यक्ष झासहितका नेताहरूलाई पार्टीमा स्वागत गरे। सो अवसरमा कांग्रेस सभापति थापा र सद्भावना पार्टीका अध्यक्ष झाबीच पार्टी समाहित गर्नेसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए।
अध्यक्ष झा औपचारिक रूपमा आइतबार कांग्रेसमा समाहित भए पनि यसअघि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कांग्रेसकै चुनाव चिन्ह लिएर रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए।
सद्भावना पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंहसँगै मधेस केन्द्रित राजनीतिमा लामो समयदेखि सक्रिय रहेका झा पुराना मधेसी नेता मानिन्छन्।
वि.सं. २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट धनुषा क्षेत्र नम्बर ३ मा चुनावी मैदानमा उत्रिएका थिए।
पछिल्लो समय लोसपा अध्यक्ष ठाकुरको कार्यशैलीप्रति असन्तुष्ट बनेपछि झाले सो पार्टी परित्याग गरी आफ्नै नेतृत्वमा पुरानो 'राष्ट्रिय सद्भावना पार्टी' ब्युँताएका थिए। अन्ततः सोही पार्टीलाई उनले आइतबार कांग्रेसमा विलय गराएका हुन्।