arrow

प्रधानमन्त्री साहको अभिव्यक्तिप्रति कांग्रेस गम्भीर, स्पष्टीकरण माग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
congress------------.jpg

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनले आइतबार प्रतिनिधि सभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालीसेले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त भनाइलाई ‘गैरजिम्मेवारीपूर्ण’, ‘आपत्तिजनक’ र ‘राष्ट्रहित विरोधी’ भन्दै घोर भर्त्सना गरेका छन्।

संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्री साहले ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ’ भनी दिएको अभिव्यक्ति ऐतिहासिक तथ्य र प्रमाण बिनाको हलुका टिप्पणी भएको कांग्रेसले उल्लेख गरेको छ। कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको ३७२ वर्ग किलोमिटर नेपाली भूमि मिचिएको गम्भीर मुद्दा र सीमा क्षेत्रको सामान्य प्राविधिक पक्षलाई एउटै डालोमा राखेर संसद्मै अनावश्यक स्वीकारोक्ति गर्नु आत्मघाती कदम भएको विज्ञप्तिमा जनाइएको छ। यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्थापित राष्ट्रिय अडान र कूटनीतिक विश्वसनीयतामा गम्भीर आघात पुर्‍याएको कांग्रेसको जिकिर छ।

नेपाल र भारतबीचको द्विपक्षीय सीमा समस्या समाधानका स्थापित कूटनीतिक संयन्त्रहरूलाई नजरअन्दाज गर्दै प्रधानमन्त्रीले सीमा समस्याबारे इङ्ल्यान्ड (बेलायत) सँग कुरा भइरहेको भनी गरेको दाबीलाई कांग्रेसले 'आपत्तिजनक र हास्यास्पद' भनेको छ। यसले अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालको परिपक्वतामाथि नै गम्भीर प्रश्न खडा गरेको कांग्रेसको भनाइ छ।

देशको कार्यकारी प्रमुखले संसद्मा बोलेको शब्द राज्यकै आधिकारिक दृष्टिकोण हुने भएकाले यो भनाइ सरकारको हो कि, राष्ट्रिय स्वतन्त्र पार्टीको हो वा प्रधानमन्त्रीको व्यक्तिगत प्रलाप हो ? भनी कांग्रेसले प्रश्न गरेको छ। यस संवेदनशील विषयमा प्रधानमन्त्री साह र सरकारले अविलम्ब संसद् र आम नेपाली जनतासमक्ष स्पष्टीकरण दिनुपर्ने माग कांग्रेसले राखेको छ। वार्ता र कूटनीतिक प्रयासबाट सीमा समस्या समाधान गर्न आफू सधैँ प्रतिबद्ध रहेको कुरासमेत कांग्रेसले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ