पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई जना घाइते
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
853
Shares
काठमाडौँ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति जिप दुर्घटना हुँदा एक जना वडासदस्यको मृत्यु भएको छ। जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप अँधेरीनेटा भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी सोही वडाका वडासदस्य ५२ वर्षीय केशवराज पौडेलको निधन भएको छ।
दुर्घटनामा टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका पौडेललाई तत्काल उपचारका लागि पोखरा लगिएको थियो। तर अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा परी जिप चालक सोही वडाकै २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन्। घाइते दुवै जनाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।