समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक
सम्पत्ति लुकाएको भए सूचना दिन समितिको आह्वान
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
677
Shares
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाका सञ्चालकहरूको उपलब्ध नामावली सार्वजनिक गरेको छ। समितिको २०८३ जेठ ८ गतेको निर्णयअनुसार बचतकर्ताको रकम फिर्ता, सम्पत्ति खोजी तथा दायित्व व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी बनाउन यी सञ्चालकहरूको विवरण सार्वजनिक गरिएको हो।
कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेखित विवरणमा कुनै फरक परेमा वा अद्यावधिक गर्नुपर्ने अवस्था भएमा सम्बन्धित पक्षलाई तुरुन्त कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। यसका साथै, सार्वजनिक गरिएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी आफ्ना परिवार, आफन्त वा अन्य कुनै व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा कार्यालयलाई सूचना दिन समेत सर्वसाधारणसँग अनुरोध गरिएको छ।
समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूलाई आफ्नो दायित्व फछ्र्योट गर्न, ऋण असुली तथा सम्पत्तिको पहिचान र व्यवस्थापन कार्यमा पूर्ण सहयोग गर्न कडा आग्रह गरेको छ। सञ्चालकहरूले यस प्रक्रियामा सहयोग नगरेमा प्रचलित कानुनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत समितिले दिएको छ।
सार्वजनिक गरिएको विस्तृत विवरणमा विभिन्न समस्याग्रस्त सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरूको नाम, ठेगाना र पारिवारिक विवरणहरू समावेश छन्। यस दस्तावेजमा विशेष गरी 'हाम्रो बहुउद्देश्यीय सहकारी संस्था', 'हाम्रो संसार बहुउद्देश्यीय सहकारी संस्था' र 'नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था' लगायतका अन्य समस्याग्रस्त संस्थाहरूका पदाधिकारीहरूको नामावली उल्लेख गरिएको छ।