काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित प्रसिद्ध धार्मिक स्थल नृसिंहधामको दर्शन गरी फर्किँदै गरेका यात्री सवार एक मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटनामा परेको छ।
बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीमा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परी चालकसहित भ्यानमा सवार सात जना घाइते भएका छन्।
दुर्घटना लगतै उद्धार गरी घाइतेहरूलाई आवश्यक उपचारका लागि सदरमुकाम धादिङबेँसी र सल्यानटारतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ।