राप्रपा छोडे धवलशमशेरले, १८३ नेताले दिए सामूहिक राजीनामा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
282
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र लामो समयदेखि चल्दै आएको आन्तरिक असन्तुष्टि अन्ततः खुला विभाजनको तहमा पुगेको छ। पार्टीका महामन्त्री डा धवलशम्शेर राणाको नेतृत्वमा पदाधिकारी, केन्द्रीय सदस्य तथा जनवर्गीय सङ्गठनका अगुवा कार्यकर्तासहित १८३ जना नेताहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक विशेष सामूहिक भेटघाट कार्यक्रममार्फत उनीहरूले पहिलो चरणको राजीनामा घोषणा गरेका हुन्। राजीनामा दिने प्रमुख नेताहरूमा महामन्त्री डा. राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मिना शाही, दिलविकास राजभण्डारी, नानीमैया आचार्य र पवित्रा सुब्बा श्रेष्ठ लगायतका केन्द्रीय, प्रदेश र जिल्ला तहका प्रभावशाली अनुहारहरू रहेका छन्।
राजीनामा घोषणा कार्यक्रममा बोल्दै डा. राणाले आफूहरू अत्यन्तै बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुगेको बताए। यस दिनलाई खुसीको नभई एउटा दुःखद क्षणका रूपमा चित्रण गर्दै उनले आफूहरूले लामो समयदेखि बोक्दै आएको राजनीतिक मूल्य, मान्यता र एजेन्डालाई वर्तमान पार्टीभित्रबाट पार लगाउन नसकिने निष्कर्षमा पुगेपछि हिम्मत गरेर घर छाड्नुपरेको स्पष्ट पारे।
विगत चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी समय रहेको उल्लेख गर्दै उनले राप्रपालाई सही बाटो र एजेन्डा प्राप्तिको मार्गमा अगाडि बढाउन आफूले हरसम्भव प्रयास गरेको दाबी गरे। "मैले राप्रपालाई सही बाटोमा लैजान खोजेको थिएँ, आन्दोलनको नेतृत्व गरेको थिएँ र सङ्गठन सुधारेर राष्ट्रकै बलियो पार्टी बनाउन चाहेको थिएँ, तर मेरा ती सबै प्रयासलाई अगाडि बढ्न दिइएन," उनले भने।
राजीनामा दिने समूहले सार्वजनिक गरेको घोषणापत्रमा पार्टी नेतृत्वप्रति प्रत्यक्ष रूपमा गम्भीर असन्तुष्टि र आरोपहरू लगाइएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति लक्षित गर्दै उनीहरूले पार्टीभित्र चरम स्वेच्छाचारिता बढेको, राजसंस्था पुनस्र्थापना, हिन्दु राष्ट्र र राष्ट्रवादका मूल एजेन्डालाई कमजोर पारिएको तथा सङ्गठनात्मक संरचना ध्वस्त बनाएर कार्यकर्तालाई निराश तुल्याइएको दाबी गरेका छन्। यसका साथै विगतको निर्वाचनमा पार्टीले ब्यहोरेको खराब परिणामको नैतिक जिम्मेवारी नेतृत्वले नलिएको र पार्टी सञ्चालन एकलौटी ढङ्गले गरिएको आरोप समेत उनीहरूको छ।
डा. राणाले आफूले छाडेको पार्टी र त्यहाँ रहेका पुराना साथीहरूका विरुद्धमा कुनै व्यक्तिगत गुनासो वा रिसइबी नराख्ने स्पष्ट पारेका छन्। यद्यपि, उनले अब देशमा एउटा बलियो र सच्चा राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। देशमा बलियो राष्ट्रियता स्थापित गर्न, हिन्दु अधिराज्य फिर्ता ल्याउन र भ्रष्टाचार अन्त्य गर्न चाहने देशैभरिका सम्पूर्ण राष्ट्रवादी कार्यकर्ता तथा आम नागरिकहरूलाई एकजुट हुन र आफ्नो नयाँ अभियानमा हातेमालो गर्न उनले विशेष आह्वान गरे। १८३ जना प्रभावशाली नेताहरूको यो सामूहिक बहिर्गमनले राप्रपाको आन्तरिक संरचनामा ठूलो धक्का पुगेको छ भने दक्षिणपन्थी राजनीतिमा नयाँ ध्रुवीकरणको सङ्केत देखाएको छ।