एनआईसी एशिया बैङ्क र ईएफआईएक्स नेपालबीच सम्झौता : क्रेडिट कार्डबाट शून्य ब्याजदरमा अनर स्मार्टफोन खरिद गर्न मिल्ने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
152
Shares
काठमाडौँ। एन आई सी एशिया बैङ्क लिमिटेड र नेपालका लागि अनर ब्राण्डका स्मार्टफोनको आधिकारिक विक्रेता ईएफआईएक्स नेपाल प्रालिबीच बैङ्कका ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। आफ्ना ग्राहक महानुभावहरूको डिजिटल बैङ्किङ सम्बन्धी आवश्यकता सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको हो।
उक्त सम्झौता पत्रमा बैङ्कका तर्फबाट चिफ ट्रान्जेक्सन बैङ्किङ नरेन्द्र मैनाली र ईएफआईएक्स नेपालका तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरेका छन्। यस सम्झौताअनुसार एन आई सी एशिया बैङ्कका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत ब्याजदर (०% ईएमआई) मा अनर ब्राण्डका स्मार्टफोनहरू efix.com.np बाट क्रेडिट कार्डमार्फत खरिद गरी आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सकिने बैङ्कले जनाएको छ।
ग्राहकहरूले कुनै थप ब्याजबिना अधिकतम १२ महिनासम्मको अवधिमा रकम भुक्तानी गर्न सक्ने गरी आकर्षक स्मार्टफोनहरू खरिद गर्न सक्ने विशेष लाभ हासिल गर्न सकिने छ। मासिक किस्ताबन्दीका लागि बैङ्कको पोर्टल instabuy.nicasiabank.com बाट सहजै अनलाइन आवेदन दिई भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिनेछ।
साथै, विदेशमा रहेका नेपालीहरूले समेत ईएफआईएक्स नेपालको वेबसाइटमा बैङ्कको अत्याधुनिक कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे ‘साइबरसोर्स’ प्रणालीमार्फत भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तजनका लागि स्मार्टफोन उपहार पठाउन सकिने छ। यस साइबरसोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैङ्कहरूद्वारा जारी गरिएका भिसा र मास्टर कार्ड प्रयोग गर्न सकिने व्यवस्था छ।
सदैव आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीको उच्चतम प्रयोगमार्फत समृद्ध बैङ्किङ अनुभव प्रदान गर्न यस बैङ्क सदैव क्रियाशील रहेको परिप्रेक्ष्यमा ईएफआईएक्स नेपालसँगको यस सहकार्यले बैङ्कका ग्राहक महानुभावहरूलाई व्ययभार कम गर्न मद्दत मिल्ने बैङ्कले विश्वास लिएको छ।