परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवाइलेबीच भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
237
Shares
काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाइलेबीच आज नयाँ दिल्लीमा मैत्रीपूर्ण भेटवार्ता भएको छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उक्त भेटवार्ताका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय आपसी सम्बन्धलाई अझ बढी सुदृढ र प्रगाढ बनाउने विषयमा छलफल भएको थियो। साथै, दुई देशका राजनीतिक पार्टी–पार्टीबीचको सहकार्य र जनता–जनताबीचको ऐतिहासिक सम्बन्धलाई थप गाढा र सुमधुर बनाउने विषयमा समेत उनीहरूबीच महत्वपूर्ण विचार विमर्श भएको दूतावासले जनाएको छ।
परराष्ट्रमन्त्री खनाल आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका थिए। भारत भ्रमणका क्रममा उनले अन्य उच्च पदस्थ अधिकारीहरूसँग समेत भेटघाट गर्ने तालिका रहेको छ।