काठमाडौँ । आज विश्व खाद्य सुरक्षा दिवस नेपालसहित विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो।
सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको थियो।
त्यसयता सन् २०१९ देखि हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। दिवसको प्रवर्द्धन तथा समन्वय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन्।
डब्ल्यूएचओका अनुसार दूषित खाद्यवस्तुका कारण विश्वभर प्रत्येक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेका छन् भने खाद्यजन्य रोगबाट झण्डै चार लाख २० हजार जनाको ज्यान जाने गरेको छ। सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव स्वास्थ्य र जीवनका लागि आधारभूत आवश्यकता मानिन्छ।
दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा विभिन्न रासायनिक पदार्थका कारण खाद्यजन्य रोग फैलिने गर्छन्। यस्ता जोखिमहरू प्रायः नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा लिइएको छ।
विशेषगरी पाँच वर्षमुनिका बालबालिका, महिला, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्ग खाद्यजन्य रोगबाट बढी प्रभावित हुने गरेका छन्।
विज्ञहरूका अनुसार खाद्यवस्तुको उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी र उपभोगका हरेक चरणमा सुरक्षा मापदण्डको पालना गरिए खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ।
विज्ञहरूले सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताबीचको साझा जिम्मेवारी र सहकार्य आवश्यक रहेको बताएका छन्।