arrow

रास्वपा जिल्ला अधिवेशन: झापामा ओमनाथ, काठमाडौँमा राजा र काभ्रेमा प्रवीण निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
rsp-office-rastriya-swatant.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी जिल्ला अधिवेशनअन्तर्गत झापा, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लामा नयाँ नेतृत्व चयन भएको छ। शनिबार र गए राति सम्पन्न मतपरिणामअनुसार तीनवटै जिल्लामा नयाँ कार्यसमिति गठन गरिएको हो।

झापाको प्रथम जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी सभापतिमा निर्वाचित भएका छन्। गए राति सार्वजनिक मतपरिणामअनुसार भण्डारीले ३४१ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरू लक्ष्मण बस्नेत र अर्जुनकुमार मैनालीलाई पराजित गरे। बस्नेतले २४७ र मैनालीले २५ मत प्राप्त गरेका थिए। उपसभापति पदमा २१० मतका साथ पुष्पलाल ढकाल विजयी भए भने उनका प्रतिस्पर्धीहरू शान्ता तामाङले १९८ मत, लीला खड्काले १११ मत र देव सङ्ग्रौलाले ९३ मत पाए। त्यसै गरी सचिव पदमा विरोध सुवेदी ३६८ मतसहित र सहसचिव पदमा भीमबहादुर कुँवर ३५२ मतसहित निर्वाचित भए। सुवेदीका प्रतिस्पर्धी रविन खड्काले २३५ मत ल्याएका थिए भने कुँवरका प्रतिस्पर्धी राजेन्द्र खनालले १९३ मत र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत प्राप्त गरे। 

जातीय क्लस्टरतर्फको सदस्य पदमा राजनारायण राजवंशी २१२ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धीहरू सन्तोष मेचे र सराब शेख मियाँले समान १८६–१८६ मत प्राप्त गरे। खुला तथा महिला सदस्यतर्फ डिल्ली न्यौपाने २२९ मत, शान्तिमाया न्यौपाने २१४ मत र मुना सापकोटा ११९ मतसहित निर्वाचित भए। झापा अधिवेशनले क्षेत्रीय नेतृत्व पनि टुङ्ग्याएको छ, जसअन्तर्गत क्षेत्र नम्बर १ को सभापतिमा कमल गौतम, क्षेत्र नम्बर २ मा गोपाल कट्वाल, क्षेत्र नम्बर ३ मा कमल बानियाँ, क्षेत्र नम्बर ४ मा लीलामाया बस्नेत र क्षेत्र नम्बर ५ मा चुडामणि पाठक निर्वाचित भएका छन्।

यता काठमाडौँ जिल्लाको सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार शाक्यले २५१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुरेश सापकोटाले १८२ मत पाए। काठमाडौँको उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन र सहसचिवमा सौरभ बस्नेत चुनिएका छन् भने सदस्यहरूमा शम्शेरबहादुर श्रेष्ठ, केदारप्रसाद रैला र बलराम कार्की निर्वाचित भएका छन्।

त्यस्तै काभ्रेपलाञ्चोक जिल्ला सभापतिमा प्रवीणकुमार ढकाल पुनः निर्वाचित भएका छन्। १३ सदस्यीय नयाँ कार्यसमितिमा सचिव पदबाहेक अन्य सबै पदमा पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चुनिएका हुन्। उपसभापतिमा पुण्यमाता घिमिरे र सहसचिवमा प्रकाश तिमल्सिना सर्वसम्मत चयन भए भने सचिव पदका लागि भएको प्रतिस्पर्धामा गुणनिधि सापकोटा निर्वाचित भए। 

कार्यसमितिको सदस्यहरूमा नवरान बोलखे, सरिता केसी, सुशीला खत्री, साजन श्रेष्ठ, विकास तोलाङ्गे, नगेन्द्र डोटेल, जेनकुमार लामा, ताराबहादुर कुँवर र ङेमा लामा सर्वसम्मत रूपमा चुनिएका छन्। पुनः सभापतिमा चुनिएपछि ढकालले विचलित नभई पार्टीलाई जिल्लामा अझ बढी गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे। यसअघि शनिबार पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले काभ्रे अधिवेशनको उद्घाटन गर्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई जनहितका काममा केन्द्रित हुन आग्रह गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ