arrow

रास्वपा जिल्ला अधिवेशन

ताप्लेजुङमा गुरुङ सर्वसम्मत, सिन्धुलीमा बस्नेत विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
rsp-party-rastriya-swatantra -party.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी साङ्गठनिक अभियानअन्तर्गत ताप्लेजुङ र सिन्धुली जिल्लामा नयाँ नेतृत्व चयन भएको छ। ताप्लेजुङमा गए राति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट राजनकुमार गुरुङको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरिएको छ। 

पदाधिकारीहरूमा उपसभापति मानबहादुर तामाङ, सचिव लीलाप्रसाद पौडेल र सहसचिव गोपाल गुरागाईं निर्विरोध चुनिएका छन् भने कमल लेछर्वो, छत्रबहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्रकुमार थापा सदस्यमा चयन भएका छन्। प्रतिनिधिसभा सदस्य मिङ्मा शेर्पाले उद्घाटन गरेको यस अधिवेशनबाट निर्वाचित नेतृत्वले जिल्लामा सङ्गठन विस्तार र सुशासनका एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

यता सिन्धुली जिल्ला अधिवेशनमा भने सहमति जुट्न नसकेपछि चुनावी प्रक्रियामार्फत नेतृत्व छानिएको छ। कुल २ सय ७४ प्रतिनिधि सहभागी निर्वाचनमा १ सय ८१ मत प्राप्त गर्दै अविनाश बस्नेत जिल्ला सभापतिमा निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धीहरू वृखबहादुर बम्जनले ८८ मत र कर्णबहादुर कार्कीले ४ मत पाएका छन्। पार्टी विधानअनुसार बम्जन भने जिल्ला सदस्य बनेका छन्। 

त्यस्तै उपसभापतिमा १ सय तीन मतका साथ रामचन्द्र अधिकारी, सचिवमा १ सय ८६ मतसहित लालप्रसाद देवकोटा र सहसचिवमा १ सय ३० मतका साथ दिनेशप्रसाद सापकोटा विजयी भएका छन्। खुला सदस्यमा दिवस पहाडी र दलित सदस्यमा कुमार रसाइली निर्वाचित हुँदा महिला सदस्यतर्फ सूर्यकुमारी गौतम र सुनिता गजुरेल निर्विरोध चुनिएका छन्। कार्यसमितिका बाँकी दुई सदस्य पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ भने अधिवेशनले क्षेत्र नम्बर १ को संयोजकमा मनिष कार्की र क्षेत्र नम्बर २ को संयोजकमा कैलाश थापालाई निर्वाचित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ