रास्वपा जिल्ला अधिवेशन: खोटाङमा मुकुन्दकृष्ण र सुर्खेतमा रमेशकुमार पुनः निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
324
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांगठनिक विस्तार र अधिवेशनका क्रममा खोटाङ र सुर्खेत जिल्लामा नयाँ नेतृत्व चयन गरिएको छ। दुवै जिल्लामा अघिल्ला कार्यकालका नेतृत्वकर्ताहरू नै दोस्रो कार्यकालका लागि पुन: निर्वाचित भएका छन्।
रास्वपा खोटाङको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट मुकुन्दकृष्ण थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका छन्। यसअघि वि.सं. २०८१ पुस १३ गते भएको प्रथम जिल्ला भेलाबाट सभापति बनेका थापाले नै पुन: जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन्।
अधिवेशनबाट उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन भएका छन् भने सचिवमा पर्शुराम थापा र सहसचिवमा राजन अधिकारी निर्वाचित भएका छन्। यसै गरी कार्यसमिति सदस्यहरूमा प्रकाश अधिकारी, केशरबहादुर श्रेष्ठ र चन्द्रबहादुर परियार चुनिएका छन्। वैधानिक व्यवस्था अनुसार ११ सदस्यीय रहने यस जिल्ला कार्यसमितिको पहिलो बैठकले बाँकी तीन जना महिला सदस्यहरू चयन गर्ने बताइएको छ। केन्द्रीय सदस्य सरिता ज्ञवालीले उद्घाटन गरेको उक्त अधिवेशनमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरेका छन्।
यता रास्वपा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित जिल्ला भेलाले रमेशकुमार सापकोटालाई पुनः सर्वसम्मत रूपमा जिल्ला सभापतिको जिम्मेवारी सुम्पेको छ। पार्टी संगठन विस्तार, जनसम्पर्क तथा स्थानीय तहसम्म संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेका कारण सापकोटालाई दोस्रो कार्यकालका लागि नेतृत्व सुम्पिएको हो।
रास्वपा स्थापनाकालदेखि नै सुर्खेतको नेतृत्व सम्हाल्दै आएका सापकोटा गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन्। उनी कर्णाली प्रदेशबाट रास्वपाको तर्फबाट निर्वाचित हुने एक मात्र प्रतिनिधिसभा सदस्य समेत हुन्। सभापति सापकोटा सर्वसम्मत चुनिए पनि १३ सदस्यीय कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरूको टुङ्गो भने अब बस्ने निर्वाचन समितिको बैठकले लगाउने जानकारी दिइएको छ।