प्रतिनिधि सभाको बैठक बस्दै, के गर्लान् विपक्षी दलहरूले ?
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
616
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्दै छ। यसअघि जेठ १९ गते मङ्गलवार बसेको बैठक विपक्षी दलहरूको लगातारको अवरोध र नाराबाजीका कारण स्थगित भएपछि सभामुखले आजका लागि बैठक आह्वान गरेका हुन्। संसद्को यो तनावपूर्ण वातावरण प्रधानमन्त्री वालेन्द्र साह (बालेन) को नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिका कारण सिर्जना भएको हो।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको धारणा राखेका थिए। प्रधानमन्त्रीको सोही अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले उक्त भनाइको तथ्य सार्वजनिक गर्नुपर्ने र विनातथ्य बोलेकोमा संसद् समक्ष माफी माग्नुपर्ने अडान राख्दै आएका छन्। सोही माग पूरा नभएपछि विपक्षीको अवरोधका कारण संसद् सञ्चालन हुन नसकेपछि सभामुखले बैठक स्थगित गर्नुपरेको थियो।
यदि आज विपक्षी दलहरूले संसद् सुचारु हुन दिएमा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट अर्थात् राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसपछि बजेटमाथि सामान्य छलफल सुरु हुनेछ र छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन्।
आजको बैठकमा व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयकहरू सदनमा प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ। उनले विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै ती विधेयकहरू संसद्मा प्रस्तुत गर्नेछन्।
यसै गरी बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक र महासन्धिहरू पनि पेस गरिनेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
सन्धि तथा महासन्धि अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि १९४७ को नं. ८१ र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ सदनमा पेस गर्नेछन्। विपक्षी दलहरूको सम्भावित अवरोध र संसद्मा बढेको राजनीतिक टकरावका बीच आजको बैठक कसरी अगाडि बढ्छ भन्ने कुरा चासोको विषय बनेको छ।
त्यसअघि आजै रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बेस्दैछ । त्यस बैठकमा सहमति भए संसद्को गतिरोध अन्त्य हुन सक्ने सम्भावना पनि छ ।