सकियो वसन्त ऋतुको हिमाल आरोहण, सगरमाथाबाट मात्रै एक अर्बभन्दा बढी राजस्व सङ्कलन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
530
Shares
काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका विभिन्न हिमाल आरोहण गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ। पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथासहित ३१ वटा हिमाल आरोहणका लागि ५६ देशका कुल १ हजार १९५ जना स्वदेशी तथा विदेशी आरोहीहरूले अनुमति लिएका थिए।
विभागले ६ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमालको र सोभन्दा साना हिमालहरूको आरोहण अनुमति नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले दिँदै आएको छ। यस वर्ष अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १५९, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रुसका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्यान्डका ३२ र फ्रान्सका २७ जना रहेका छन्।
पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार कुल आरोहीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ४९५ जनाले अनुमति लिएका थिए, जसमा ३९० पुरुष र १०५ महिला थिए। अनुमति लिएका आरोहीबाहेक उनीहरूका सहयोगी तथा 'गाइड' गरी यस सिजनमा करिब १ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेका छन्।
सगरमाथा चढ्नेमा पनि सबैभन्दा बढी छिमेकी मुलुक चीनका १०९ जना रहेका छन् भने अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रुसका १८, अस्ट्रेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२ र आयरल्यान्डका ११ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन्।
यस वर्षको वसन्त ऋतु नेपाली आरोहीहरूका लागि ऐतिहासिक कीर्तिमानको वर्ष बनेको छ। सोलुखुम्बुका प्रख्यात आरोही कामीरिता शेर्पाले गत जेठ ३ गते सगरमाथाको चुचुरोमा खुट्टा टेकेसँगै ३२ औँ पटक सगरमाथा आरोहण गरी विश्वकै सर्वाधिक आरोहण गर्ने आफ्नो पूर्वकीर्तिमान पुनः तोड्दै नयाँ विश्व रेकर्ड कायम गरेका छन्।
यसै गरी महिला आरोहीतर्फ सङ्खुवासभा मकालुकी लाक्पा शेर्पाले ११ औँ पटक सगरमाथाको सफल आरोहण गरी विश्वकै बढी आरोहण गर्ने महिलाका रूपमा आफ्नै रेकर्ड परिमार्जन गर्दै नयाँ इतिहास रच्नुभएको छ।
हिमाल आरोहण अनुमतिबापत सरकारले यो सिजनमा ठुलो मात्रामा वैदेशिक मुद्रा र राजस्व सङ्कलन गरेको छ। वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिएबापत सरकारले कुल १ अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जसमा सगरमाथा आरोहण अनुमतिबाट मात्रै १ अर्ब ८ करोड १० लाख ७२५ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
यसै गरी लोत्से हिमालबाट ६ करोड ६८ लाख ७१ हजार ९९० रुपैयाँ, मकालु पहिलोबाट ३ करोड १७ लाख ८५ हजार ८०० रुपैयाँ, आमादब्लमबाट १ करोड ६६ लाख ९ हजार २०० रुपैयाँ, कञ्चनजङ्गाबाट १ करोड ६५ लाख ४० हजार ५०० रुपैयाँ र अन्नपूर्ण पहिलोबाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ।