कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक समय आज सकिदै, छुट्नेले १५ औँ महाधिवेशनमा भाग लिन नपाउने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
283
Shares
काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समय आज सकिँदैछ । पार्टीले पटक पटक थपेको समय आज मध्यरातसम्म रहेको जनाएको छ । महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले मध्यरातिसँगै अद्यावधिकको समयसीमा समाप्त हुने भएकाले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अद्यावधिक गरिसक्न अपील गरेका छन् ।
क्रियाशील सदस्यता अध्यावधिक गर्न योग्य कूल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये हिजो बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेका छन् । त्यस बाहेक थप एक लाख २४ हजार ७४८ जनाले स्वयं अध्यावधिक फाराम पेस गरी अद्यावधिक प्रक्रियामा सहभागी भइसकेको जानकारी पनि पार्टीले दिएको छ।
महामन्त्री पौडेलले समयसीमा सकिनै लाग्दा एकैपटक धेरैले फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले अन्तिम समयसम्म प्रतीक्षा नगरी तत्कालै अद्यावधिक प्रक्रिया पूरा गर्न सबै क्रियाशील सदस्यलाई आग्रह गरेका छन् ।
उनले कांग्रेसको वेबसाइटमार्फत हरेक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट सहज रूपमा सदस्यता अध्यावधिक गर्न सक्ने व्यवस्था गरिएको बताउँदै प्रक्रिया थाहा नभए वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिएर भए पनि समयमै अध्यावधिक गर्न आग्रह गरेका छन् ।
कांग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यका साथ अनलाइन माध्यमबाट क्रियाशील सदस्यता अध्यावधिक अभियान सञ्चालन गर्दै आएको छ ।
कतिपय नेताहरूले अवरोध गर्ने प्रयास गरे पनि क्रियाशील सदस्यता अध्यावधिक अभियान गाउँगाउँसम्म उत्साहजनक रूपमा अघि बढिरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
विगतमा अरुले फाराम भरिदिँदा केही सदस्यता फर्जी पनि हुन सक्ने भएकाले धेरै सदस्यता देखिएको र अहिले आफैँले अनलाइनबाट भर्नु पर्ने भएकाले वास्तविक सदस्यता विवरण तयार हुन लागेको नेताहरूले बताएका छन् ।
सदस्यता फारम कमले भरेको बारे केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भन्छन्, 'विगतमा नेताहरूले अरूको नाममा आफैं फारम भरिदिँदा देखिने ‘फर्जी संख्या’ भन्दा अहिले कार्यकर्ता आफैँ सचेत भएर अनलाइन फारम भर्दा संख्या केही कम देखिनु नितान्त स्वभाविक र यथार्थ हो ।'
उनका अनुसार तोकिएको समयसीमाभित्र आफ्नो सदस्यता अनलाइन प्रणालीमा दर्ता गराउने क्रियाशील सदस्य मात्रै आगामी १५औँ महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन् । उनले भने, 'समय घर्किसकेपछि रोएर, कराएर वा केन्द्रीय कार्यालयमा नाराबाजी गरेर कुनै सुनुवाइ हुनेवाला छैन ।'
विगतमा सदस्यको नामबाहेक अन्य विवरण व्यवस्थित रूपमा अभिलेखीकरण नहुने अवस्थाको अन्त्य गर्दै डिजिटल प्रणालीमार्फत सदस्यहरूको आधारभूत विवरण व्यवस्थित र अद्यावधिक हुन लागेको छ।
संस्थापन इतरका नेताहरूको आग्रहबाट समेत संस्थापनले पटक पटक समय थप गरिसकेको छ । अब समय नथप्ने बताइसकेको छ ।
विशेष महाधिवेशन हुँदैन भनियो त्यो सम्पन्न भयो र त्यसबाटै गगन थापाको नेतृत्व आयो । चुनावमा विशेष महाधिवेशन पक्षधरको चुनाव चिन्ह नै नहुने भनेर पनि हल्ला चलाइयो । त्यही विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक भन्दै निर्वाचन आयोगले पार्टीको आधिकारिक चिन्ह रूख दियो ।
मुद्धा सर्वोच्च अदालतमा पुग्यो । सर्वोच्चले पनि निर्वाचन आयोगकै निर्णयलाई हरियो झण्डा देखाइदियो । त्यसपछि अद्यावधिक रोक्न भनियो । त्योसमेत हिजोसम्म ७४ प्रतिशत सम्पन्न भइसकेको छ ।
पुरातनवादीसोचलाई निरन्तर समयले चुनौती दिइरहेको छ ।