फिफा विश्वकपमा कुन टोलीलाई समर्थन गर्छन् यी नेताहरू ?
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
316
Shares
काठमाडौँ । फिफा विश्वकप २०२६ लाई लिएर विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूले पनि फुटबलप्रतिको आफ्नो रुचि, समर्थन र मनपर्ने खेलाडीबारे रोचक धारणाहरू व्यक्त गरेका छन्। बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै र सामाजिक सञ्जालमार्फत नेताहरूले आ-आफ्नो फेभरेट टोली खुलाएका हुन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको फ्यान रहेको बताए। विश्वकपको प्रतिस्पर्धालाई लिएर आफ्नो धारणा राख्दै उनले खेलमा जसको जित भए पनि स्वीकार्य हुने उल्लेख गरे।
उनले भने: ‘जसले जिते पनि हुन्छ, जित्नेलाई समर्थन गर्ने हो। तर मलाई रोनाल्डो मन पर्छ, त्यसैले म रोनाल्डोलाई बढी समर्थन गर्छु।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूलाई फुटबलबारे धेरै प्राविधिक ज्ञान नभएको स्पष्ट रूपमा स्वीकार गरे। खेलकुदप्रति आफ्नो दृष्टिकोण सकारात्मक रहे पनि आफ्नो सम्पूर्ण ध्यान र चासो राजनीतिमै केन्द्रित रहेको उनले बताए।
उनले भने: ‘फुटबलको सन्दर्भमा म सबैको पक्षमा छु। धेरै ज्ञान त छैन, थाहा नभएको विषयमा धेरै बोल्नु पनि हुँदैन। केही खेलाडीहरूको नाम सुनेको छु। तर फुटबलको ज्ञानभन्दा राजनीतिको ज्ञानमा बढी चासो हुने भएकाले अहिलेको सबैभन्दा सुपरस्टार खेलाडी त रवि लामिछाने नै हुन्।’
नेकपा (एमाले) का नेता ऐन महरले आफू विगत झन्डै तीन दशकदेखि फुटबलको प्रवल प्रेमी रहेको बताए। अघिल्ला विश्वकपहरुका खेलहरू पनि नछुटाई हेर्ने गरेको स्मरण गर्दै उनले यस पटकका सबै टोलीहरूलाई सफलताको शुभकामना दिए।
उनले भने: ‘मेरो समर्थन सधैँ ब्राजिललाई नै रहन्छ। मेस्सी, रोनाल्डो र नेयमारजस्ता खेलाडीहरू आफ्नो समयका उत्कृष्ट खेलाडी हुन्। उहाँहरूले फुटबलमा ठूलो योगदान पुर्याउनुभएको छ। अहिले भने लामिन यमालले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यी सबै खेलाडीप्रति मेरो उच्च सम्मान छ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले पनि यस पटकको विश्वकपमा आफ्नो समर्थन पोर्चुगल र रोनाल्डोलाई नै रहेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले विश्वकप हेर्ने आफ्नो तयारी पूरा भएको जनाए।
उनले फेसबुकमा लेखेका छन्: ‘म त तयार भएँ। यसपालिको मेरो फेभरेट टिम पोर्चुगल रोनाल्डो।’
विश्वकपलाई लिएर सर्वसाधारणदेखि देशको शीर्ष राजनीतिक नेतृत्वसम्म देखिएको यो क्रेजले नेपालमा फुटबलको लोकप्रियता कति गहिरो छ भन्ने पुनः पुष्टि गर्दछ । विश्वकपको उद्घाटन खेलमा मेक्सिको विजयी भएको छ ।