विनियोजन विधेयकमाथिको मन्त्रालयगत शीर्षकमा छलफल असार १ गतेदेखि
बजेटमाथिको विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
267
Shares
काठमाडौँ । आगामी आर्थिक वर्षको विनियोजन विधेयक (बजेट) को विभिन्न मन्त्रालय तथा सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथिको विस्तृत छलफल यही असार १ गतेबाट शुरू हुने भएको छ। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले आगामी असार १ गतेदेखि ४ गतेसम्मका लागि मन्त्रालयगत बजेट शीर्षकहरूमाथि छलफल गर्ने समय तोकिएको घोषणा गरे।
सभामुख अर्यालले तोकिएको दिनहरूमा मन्त्रालयगत शीर्षकहरूमाथि छलफल हुने र सोही क्रममा सम्बन्धित मन्त्रीहरूले आफ्नो मन्त्रालय एवं सचिवालयसँग सोधिएका प्रश्नहरूको उत्तर समेत दिने जानकारी दिए। उनले उक्त छलफलमा भाग लिन चाहने सांसदहरूलाई आफ्नो दलको पदाधिकारीमार्फत आफू बोल्ने दिनको बैठक बस्नुभन्दा कम्तीमा एक घण्टा अगावै संसद् सचिवालयमा नाम टिपाउन समेत आग्रह गरे।
सभामुख अर्यालले भने, ‘विनियोजन विधेयक २०८३ को विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय एवं सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तरसमेत दिनका लागि यही २०८३ असार १ गतेदेखि ४ गतेसम्मको दिनहरू तोकेको छु। साथै उक्त छलफलमा दलीय प्रतिनिधित्वको आधारमा भाग लिनुहुने माननीय सदस्यहरूको नाम सम्बन्धित संसदीय दलका पदाधिकारीमार्फत बैठक बस्नुभन्दा एक घण्टा अगावै सङ्घीय संसद् सचिवालयको कार्य व्यवस्था शाखामा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु।’
शुक्रबारकै प्रतिनिधि सभा बैठकले अर्थमन्त्रीद्वारा प्रस्तुत ‘विनियोजन विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। यो प्रस्ताव स्वीकृत भएसँगै बजेट पारित गर्ने संसदीय प्रक्रियाको अर्को चरण अर्थात् मन्त्रालयगत बजेट विनियोजनमाथिको घनीभूत छलफलका लागि बाटो खुलेको छ।