एमाले कार्यदलले शुरू गर्यो प्रदेशस्तरबाटै सुझाव सङ्कलन
असार १७ सम्म सबै प्रदेशमा भेला गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
162
Shares
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरेको विशेष कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव सङ्कलनको कार्य शुरू गरेको छ। गत फागुन २१ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबिचको सम्बन्धलाई थप सुदृढ बनाउन आवश्यक रूपान्तरणका विषयमा सुझाव लिन यो अभियान थालिएको हो।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यदलले बागमती प्रदेश सङ्गठन कमिटीको समन्वयमा काठमाडौँबाट यो सुझाव सङ्कलन अभियानको औपचारिक शुरूआत गरेको हो। बागमती प्रदेश कमिटीको बैठक शुक्रबारदेखि शुरू भएको र सोही बैठकको समापनसँगै सुझाव सङ्कलनका लागि विशेष भेला आयोजना गरिएको छ।
गत जेठ १० गते सम्पन्न एमाले सचिवालयको आठौँ बैठकले पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा १५ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेको थियो। त्यसपछि जेठ २६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको विशेष उपस्थितिमा बसेको कार्यदलको पहिलो बैठकले देशभरका प्रदेशहरूमा पुगेर सुझाव सङ्कलन गर्ने कार्यतालिका निर्धारण गरेको थियो।
कार्यदलले तय गरेको कार्यतालिका अनुसार असार २ गते कोशी प्रदेश, असार ४ गते लुम्बिनी प्रदेश, असार ६ गते सुदूरपश्चिम प्रदेश र असार ८ गते कर्णाली प्रदेशमा सुझाव सङ्कलन गरिनेछ। यसै गरी अभियानलाई निरन्तरता दिँदै असार ११ गते गण्डकी प्रदेश, असार १३ गते मधेस प्रदेश, असार १६ गते राजधानी विशेष प्रदेश र असार १७ गते सम्पर्क समन्वय विशेष प्रदेशमा सुझाव सङ्कलनका लागि भेलाहरू आयोजना गरिनेछ। यी प्रदेशस्तरीय भेलाहरूमा सम्बन्धित भौगोलिक क्षेत्रका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारीहरू तथा जिल्ला तहका नेतृत्वदायी पदाधिकारीहरूको सहभागिता रहनेछ।
प्रदेशहरूको राष्ट्रिय अभियान सकिएलगत्तै कार्यदलले काठमाडौँ फर्किएर असार १८ गते पार्टी सम्बद्ध जनसङ्गठनहरू र असार १९ गते एमालेका केन्द्रीय विभाग प्रमुख तथा विभिन्न आन्तरिक निकायका पदाधिकारीहरूसँग अन्तिम चरणको सुझाव सङ्कलन गर्ने तयारी गरेको छ।