बाँके । जेठ महिनाको अन्त्य भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा बाँकेमा धानको ब्याड राख्ने कार्य प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका अधिकांश किसानले अझैसम्म धानको ब्याड राख्न नसकेको बताएका छन् ।
नेपालगञ्ज-१९ सुइयागाउँका किसान ललवा माहुतका अनुसार सिँचाइको अभाव, बीउ र मलको समस्या तथा वर्षा नपर्दा खेती गर्न कठिन भएको छ ।
उनले भने, “धान खेतीका लागि आवश्यक सिँचाइ र सामग्री नपाउँदा बर्सेनि किसानले ठूलो समस्या झेल्नुपरेको छ ।”
जानकी गाउँपालिका-१ का अध्यक्ष मोहम्मद रजा राईले पनि पर्याप्त वर्षा नहुँदा साइगाउँ र बेलभार क्षेत्रका किसानले अहिलेसम्म धान रोपाइँ शुरू गर्न नसकेको बताए ।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार जिल्लामा हालसम्म करिब ४० प्रतिशत किसानले मात्र धानको ब्याड राखेका छन् । बाँकेमा करिब ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।
सिँचाइ सुविधा पुगेका क्षेत्र तथा वैकल्पिक उपाय अपनाएका किसानले मात्र आंशिक रूपमा ब्याड राख्न सकेका छन् ।
सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी मनोज शाहका अनुसार आयोजनाको पूर्वी र पश्चिमी नहरमार्फत पानी वितरण भइरहेको छ । हालसम्म करिब २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ पुगेको बताइएको छ ।रासस