एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न, यस्ता छन् निर्णय
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
333
Shares
काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालयको गत जेठ ४, ८ ,९ र १० गते बसेको बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन गरेको संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ ।
कार्यदलका संयोजक पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न चार निर्णय गरेको सचिव महेशकुमार बर्तौलाले बताए । कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र राजेन्द्र घिमिरे सदस्य रहेका छन् ।
यस्ता छन् कार्यदलको बैठकले गरेका निर्णयहरू:
१. सङ्घीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई सुदृढ गर्न र थप प्रभावकारी बनाउन राजनीतिक र सामाजिक जीवनका विभिन्न क्षेत्रहरूबाट सुझाव संकलन गरी संविधान संशोधन सम्बन्धी प्रस्ताव तयार गर्ने ।
२. संविधान कार्यान्वयनको हालसम्मको अनुभवका आधारमा संविधानका सबल तथा कमजोर पक्ष र कार्यान्वयनका क्रममा देखिएका जटिलता सहितको पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न र संविधान संशोधन सम्बन्धी सुझाव संकलनका लागी बिस्तृत कार्यतालिका निर्माण गर्न अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। उक्त उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन् । उप समितिले सुझाव संकलन लगायतको कार्ययोजना र कार्यतालिका आगामी बैठक प्रस्तुत गर्ने ।
३. अन्य राजनीतिक दलहरू र दलहरूले गठन गरेका संविधान संशोधन सम्बन्धी कार्यदलहरूसँग संवाद, छलफल तथा अन्तरक्रिया गर्न पहल गर्ने ।
४. संविधान संशोधन सुझाव कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलालाई प्रदान गर्ने ।