प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल, राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
186
Shares
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्न लागेको छ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११:०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्ने तय भएको हो। आज बस्ने प्रतिनिधि सभाको बैठकबाट नयाँ आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल औपचारिक रूपमा सुरु हुने संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने कार्यसूची रहेको छ। जसअनुसार आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुनेछ। साथै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित शीर्षकहरूमाथि पनि सांसदहरूले आ-आफ्नो धारणा राख्नेछन्।
यसैगरी दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ। बैठकमा बजेटमाथिको सामान्य छलफल सकिएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा जारी छलफलका क्रममा उठेका विभिन्न प्रश्न, सुझाव र जिज्ञासाहरूको आधिकारिक जवाफ दिने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।