शिक्षामा पर्याप्त लगानी बिनाको समृद्धि सम्भव छैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
217
Shares
काठमाडौँ। नेकपा (एमाले)का सांसद अर्जुन कुमार कार्कीले उच्च शिक्षामा सरकारले थप उदार भएर लगानी गर्नुपर्ने बताएका छन्।
नेपाली विद्यार्थीहरूले सीमित स्रोत-साधनका बाबजुद विश्वका प्रतिष्ठित विश्वविद्यालय र विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरिरहेको उल्लेख गर्दै उनले मानव पूँजी विकासका लागि शिक्षा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका हुन्।
सोमबार प्रतिनिधि सभामा शिक्षा क्षेत्रसँग सम्बन्धित विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै कार्कीले दुर्गम र कम विकसित क्षेत्रका विद्यार्थीहरूले समेत अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गरेको बताए।
आफू अमेरिकामा राजदूत रहँदा त्यहाँ नेपाली मूलका करिब आठ सयभन्दा बढी गणितका प्राध्यापक तथा अंग्रेजी अध्यापन गराउने प्राध्यापकहरू भेटेको अनुभव सुनाउँदै उनले नेपाली प्रतिभा विश्व बजारमा प्रतिस्पर्धी रहेको उल्लेख गरे।
“यसले नेपाली विद्यार्थीहरूको क्षमता पुष्टि गर्छ, त्यसैले उच्च शिक्षामा सरकारले धेरै उदार भएर लगानी गर्नुपर्छ,” उनले भने।
कार्कीले चालु आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रका लागि कुल बजेटको करिब ११ दशमलव २८ प्रतिशत अर्थात् दुई खर्ब ८८ अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख गर्दै यो अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने न्यूनतम २० प्रतिशतको तुलनामा निकै कम रहेको बताए।
उनले विद्यार्थी छात्रवृत्तिका लागि आठ अर्बभन्दा बढी रकम विनियोजन गरिए पनि विश्वविद्यालय तहका विपन्न विद्यार्थीले वार्षिक करिब चार सय रुपैयाँ मात्र पाउने व्यवस्था आजको महँगीका हिसाबले प्रभावहीन रहेको टिप्पणी गरे।
सांसद कार्कीले नेपालको शिक्षा प्रणाली अब प्रमाणपत्रमुखी मात्र नभई ‘लर्निङ आउटकम’मा आधारित हुनुपर्नेमा जोड दिए।
शिक्षालाई रोजगारी, उद्यमशीलता र राष्ट्रिय विकाससँग प्रत्यक्ष जोड्न पाठ्यक्रमलाई सीपमूलक र व्यवहारिक बनाउनुपर्ने उनको धारणा थियो।
पर्याप्त लगानी, प्रभावकारी छात्रवृत्ति र सीपमुखी शिक्षामार्फत मात्रै नेपालको मानव पूँजी विकास र दीर्घकालीन राष्ट्रिय समृद्धि सम्भव हुने कार्कीले बताए।