मन्त्रीहरू नै नभएपछि स्थगित भयो प्रतिनिधि सभाको बैठक
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
225
Shares
काठमाडौँ । मन्त्रीहरू नै उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभामा आज र भोलि बजेटको मन्त्रालयगत छलफल भइरहँदा आज नौ मन्त्रालयको छलफल भइरहँदा मात्र दुई जना मन्त्री उपस्थित भएपछि प्रतिपक्ष दल एमालेका सांसद राजेन्द्र राईले आवाज उठाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
सभामुख डोलप्रसाद अर्यालले बैठक अगाडि बढाउन भरमग्दूर प्रयास गरे पनि सांसद राईले रोष्ट्रममै बसिदिने भनेपछि प्रयास असफल भएको थियो ।
त्यसपछि बाध्य भएर सभामुखले बैठक १५ मिनेट स्थगित गरेका हुन् ।
त्यतिमा होइन संसद पनि खालीखाली जस्तै छ ।
रास्वपाका करिब दुई तिहाई सांसद भए पनि न्यूनसंख्यामा मात्र बैठकमा बसेका छन् ।
असार १ गते सोमबार युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भइरहेको थियो ।
मन्त्रीहरू नै नभएपछि आफूले कसलाई कुरा सुनाउने भन्दै सांसद राईले आफू नियमावलीअनुसार चल्ने बताए । उनले आफूलाई जनतादेखि पत्रकारसम्मले प्रश्न गर्ने भन्दै नियम मिचेर कुन मुखले बाहिर निस्कने भन्दै सभामुखलाई प्रश्न गरे ।
कानूनमा रहन रास्वपाले नै आफूहरूलाई सिकाएको भन्दै अब नियम कानूनअनुसार नै आफू चल्नेसमेत उनले बताए ।