मनाङ जोड्ने बेँसीसहर-चामे र पर्यटकीय घलेगाउँ सडक पहिरोले ठप्प
निर्माण सुस्तीले बर्सेनि सास्ती
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
192
Shares
काठमाडौँ । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेँसीसहर-चामे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ स्थित जोखिमपूर्ण खरखरे भिरमा शुक्रबार बिहान ठूलो पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतका अनुसार वर्षा जारी रहेकाले सडक माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खस्ने क्रम रोकिएको छैन। सडक सञ्जाल विच्छेद भएपछि मनाङतर्फ जाँदै गरेका र मनाङबाट बेँसीसहर हुँदै विभिन्न गन्तव्यतर्फ प्रस्थान गरेका दर्जनौँ सवारीसाधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
खरखरे भिरमा वर्षायाम सुरु हुनासाथ बर्सेनि पहिरो जाने र यात्रा जोखिमपूर्ण बन्ने समस्या नयाँ भने होइन। विगत पाँच-सात वर्षअघि यहाँ गएको विनाशकारी पहिरोको स्थायी नियन्त्रण हुन नसक्दा यो क्षेत्र दीर्घकालीन रूपमा थप कमजोर बन्दै गएको छ।
यस पहिरोको स्थायी रोकथाम र व्यवस्थापनका लागि सङ्घीय सरकारको १९ करोड ४८ लाख रुपैयाँको लागतमा निर्माण कार्य अघि बढाइएको थियो। सम्झौता अनुसार वि.सं. २०८० भित्रै सम्पन्न भइसक्नुपर्ने यो आयोजना निर्माण व्यवसायीको चरम ढिलासुस्तीका कारण हालसम्म पनि अधुरै छ। समयमै पहिरो नियन्त्रणको काम नसकिँदा राज्यको ठूलो बजेट बालुवामा पानीजस्तै भएको छ भने सर्वसाधारणले बर्सेनि ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छैन।
मनाङ जोड्ने रणनीतिक सडक मात्र नभएर लमजुङको चर्चित पर्यटकीय गाउँ घलेगाउँ जोड्ने ग्रामीण सडकसमेत पहिरोका कारण बन्द भएको छ। बेँसीसहर-घलेगाउँ सडकखण्ड अन्तर्गत बेँसीसहर–६ कै पुमा भिरमा खसेको पहिरोले यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनाएको प्रहरीले जनाएको छ।
वर्षा नरोकिएकाले दुवै ठाउँमा तत्काल पहिरो पन्छाउन कठिनाइ भइरहेको छ। स्थानीय प्रशासन र प्रहरीले सडक सुचारु गर्न आवश्यक समन्वय र प्रयास गरिरहे पनि मौसम अनुकूल नभएसम्म ढुक्कले यात्रा गर्ने स्थिति नरहेकाले सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।