काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब छ करोड रुपैयाँ पुगेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब नौ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यस्तै, निर्यात १२.२८ प्रतिशतले बढेर दुई खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
आयातको तुलनामा निर्यात वृद्धि दर कम रहेकाले व्यापार घाटा अझै फराकिलो बनेको छ।
चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ थियो ।
तथ्यांकले नेपालको अर्थतन्त्र अझै आयातमुखी रहेको देखाएको छ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.२० प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १२.८० प्रतिशत मात्र छ। अघिल्लो वर्ष निर्यातको हिस्सा १३.०८ प्रतिशत रहेकामा यस वर्ष केही घटेको छ ।
यस अवधिमा आयात-निर्यात अनुपात ६.६४ बाट बढेर ६.८१ पुगेको छ । अर्थात् प्रत्येक एक रुपैयाँ बराबरको निर्यात गर्दा नेपालले छ रुपैयाँ ८१ पैसा बराबरको वस्तु आयात गरेको देखिन्छ ।
वैदेशिक व्यापारको आकार बढे पनि व्यापार घाटा निरन्तर फराकिलो बन्दै जानुले स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि थप प्रभावकारी नीतिको आवश्यकता रहेको संकेत गरेको छ ।