राजनीति केवल सत्ता प्राप्तिको माध्यम मात्र होइन, यो त समाज रूपान्तरणको नीति र निष्ठाको मार्ग हो। आजको यो सचेत युगमा कुनै पनि राजनीतिक दलको कार्यकर्ता हुनु र कुनै नेताको समर्थक हुनुका पछाडि निश्चित विचार र एजेन्डा हुनु जरुरी छ ।
म गर्वका साथ भन्छु - म नेपाली कांग्रेसको केन्द्रीय तहमा नै क्रियाशील जिम्मेवार कार्यकर्ता हुँ र जनप्रिय युवा नेता गगन थापाको दूरदर्शी सोचको समर्थक हुँ । मेरो यो गर्वका पछाडि खोक्रो नारा होइन, ठोस वैचारिक जग र परिवर्तनको तीव्र अभिलाषा लुकेको छ । त्यो क्षमता मैले नेपाली कांग्रेस सभापति गगन थापासँग मात्रै रहेको देखेँ ।
१. नेपाली कांग्रेस: लोकतन्त्र र इतिहासको मियो
नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, यो नेपालको लोकतान्त्रिक आन्दोलनको जीवन्त इतिहास हो , अभियान हो । जन्मकालदेखि नै राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारा बोकेर जनतालाई रैतीबाट नागरिक बनाउने आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्यो।
उदारता र समावेशिता: कांग्रेसले सधैं विचारको स्वतन्त्रता र व्यक्ति-अधिकारको वकालत गर्यो। विचार नमिल्नेसँग पनि सहकार्य गरेर देशलाई निकास दिने राजनीतिक संस्कार नेपाली कांग्रेससँग मात्र छ ।
आर्थिक-सामाजिक रूपान्तरण: वि.सं. २०१६ सालको बिपी कोइरालाको सरकारदेखि २०४६ र २०६३ को परिवर्तनपछि मुलुकमा भएका आर्थिक र पूर्वाधार विकासका ठूला क्रान्तिहरू कांग्रेसकै नीतिगत जगमा उभिएका छन्। यस्तो ऐतिहासिक र जिम्मेवार पार्टीको एउटा केन्द्रिय सिपाही हुन पाउनु मेरा लागी आफैंमा एउटा गौरव र गर्वको कुरा हो।
२. गगन थापा: आशा, भरोसा , विश्वास र प्रष्ट भिजनका संवाहक हुन् । पार्टीको गौरवशाली इतिहास जति महत्त्वपूर्ण छ, वर्तमान र भविष्यलाई हाक्ने नेतृत्व उति नै सशक्त हुन जरुरी छ। आजको नेपाली राजनीतिमा गगन थापा एउटा व्यक्तिको नाममात्र होइन, यो मुलुक बदल्न चाहने लाखौँ युवाहरूको जस्तै साझा भावना, आशा, भरोसा र विश्वासको केन्द्र हो ।
कामबाट प्रमाणित नेतृत्व: स्वास्थ्य मन्त्री हुँदा थापाले शुरू स्वास्थ्य बिमाको अवधारणा र सरकारी अस्पतालहरूको सुधारको प्रयासले कुरामात्र गर्ने नेता होइन, काम गरेर देखाउने 'डेलिभरी' दिने नेता हो भन्ने प्रमाणित गर्छ।
संसद्मा जनताको बुलन्द आवाज: संसद्को रोस्टममा उभिएर जनसरोकारका मुद्दा, सुशासन, र राष्ट्रिय हितका पक्षमा गगन थापाले राख्ने तर्कपूर्ण र प्रखर दृष्टिकोणले हरेक नागरिकको शिर गर्वले उँचो बनाउँछ। उनका भाषणहरूमा आक्रोशमात्र हुँदैन, समस्या समाधानको स्पष्ट खाका (भिजन) हुन्छ।
पार्टी रूपान्तरणका अभियन्ता: महामन्त्रीको रूपमा उनले कांग्रेसलाई प्रविधिमैत्री, विधि सम्मत् र युवामुखी बनाउन गरेको प्रयास उदाहरणीय थियो । "पार्टीभित्र निरन्तर रूपान्तरण र देशमा भ्रष्टाचार नियन्त्रण र सुशासन" उनको मूल मन्त्र हो। आज सभापति हुँदा गगन थापाले नेपाली कांग्रेसलाई सबल सक्षम र युग सुहाउँदो डिजिटल नेटवर्क सहितको लोकतान्त्रिक पार्टी बनाउने अभियानको थालनी गरेको र त्यस अभियानमा म लगायत लाखौँ नेता, कार्यकर्ता जुटिरहेका छौँ ।
त्यसैले मलाई गर्व छ मेरो विचार संघीय लोकतान्त्रिक गणतन्त्रमा, मेरो संगठन नेपाली कांग्रेसमा र मेरो नेतृत्व गगन थापामा । (गिरी कांग्रेस पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य हुन्)