arrow

न्याय नपाएपछि ‘माटोको धनी’ देवताको शरणमा पुग्छन् हजारौँ श्रद्धालु [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
temple-mugu.jpg

मुगु। हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका-३ स्थित भिई गाउँमा रहेको भिई गुरु देवता र आसपासका धार्मिक क्षेत्र पर्याप्त प्रचार-प्रसारको अभावमा ओझेलमा परेका छन् ।

धार्मिक, सांस्कृतिक तथा पर्यटनका दृष्टिले महत्वपूर्ण मानिने यो क्षेत्र अहिले पनि कर्णालीका विभिन्न जिल्लाका श्रद्धालुहरूको आस्थाको केन्द्र बनेको छ ।

स्थानीय जनविश्वासअनुसार सरकारी निकाय वा अदालतबाट समेत न्याय नपाएका मानिसहरू भिई गुरु देवताको शरणमा पुग्ने गर्छन् । यहाँ आएर न्याय माग्दा समस्या समाधान हुने, मनोकामना पूरा हुने र सत्यको जित हुने विश्वास रहिआएको छ।

भिई गाउँमा गुरु देवताको मन्दिरसँगै धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेका दुई दर्जनभन्दा बढी देवी-देवताका मठ, मन्दिर, थान, चौतारा तथा धार्मिक स्थल रहेका छन् । तर पर्याप्त प्रचार-प्रसार र पूर्वाधार विकास नहुँदा ती क्षेत्रहरू अझै ओझेलमै छन् ।

कैलाश मानसरोवरबाट आएको देवताको जनविश्वास

स्थानीय बूढापाकाहरूका अनुसार मुगुको भिई गाउँमा मानव बस्ती बस्न थालेकै समयदेखि गुरु देवताको अस्तित्व रहेको मानिन्छ । किंवदन्तीअनुसार गुरु देवता कैलाश मानसरोवरबाट भिई गाउँमा आएर बसेका थिए ।

त्यतिबेला गाउँमा सरकारी अड्डा, अदालत वा प्रहरी चौकी थिएनन्। जग्गा-जमिनका विवाद, झैझगडा, अन्याय र अत्याचारका विषयमा निर्णय गर्ने तथा न्याय दिने काम गुरु देवताले गर्ने गरेको विश्वास स्थानीयमा आज पनि कायम छ ।

स्थानीय इतिहासअनुसार सातौँ शताब्दीमा स्थापना भएको यस धार्मिक केन्द्रमा तेह्रौँ शताब्दीमा धामी-झाँक्री र हिन्दू धर्मका देवताहरूबीच ठूलो संघर्ष भएको उल्लेख पाइन्छ। उक्त संघर्षमा गुरु देवताको विजय भएपछि विशेषगरी जग्गा-जमिनसम्बन्धी विवादको छिनोफानो गर्ने शक्तिका रूपमा उनको प्रतिष्ठा बढ्दै गएको जनविश्वास छ। यही विश्वासका कारण अहिले पनि कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालीकोट, बाजुरा, बझाङलगायत जिल्लाबाट मानिसहरू न्यायको खोजीमा यहाँ पुग्ने गर्छन् ।

किन भनिन्छ ‘माटोको धनी’ देवता ?

स्थानीयवासी डिलबहादुर धामीका अनुसार गुरु देवतालाई माटो, भूमि र जग्गासँग सम्बन्धित विषयका ‘राजा’ अथवा ‘माटोको धनी देवता’ मानिन्छ ।

किंवदन्तीअनुसार ३३ कोटी देवताहरू ‘हिल्सा चौरको टाँके’ नामक स्थानमा पुगेका बेला गुरु देवता ढिलो पुगेका थिए। त्यसअघि पुगेका ३२ देवताले त्यहाँ रहेको ‘विजैरी फूल’ र वर्षभरका १२ वटा पूर्णिमाको भागबण्डा गरिसकेका थिए।

पछि आइपुगेका गुरु देवतालाई कुन भाग दिने भन्ने विषयमा छलफल हुँदा उनलाई ‘औँसी-पूर्णिमाको नवमी मेला’ को जिम्मा दिइयो । त्यसक्रममा गुरु देवताले माटोको अधिकारसमेत मागेका कारण उनलाई ‘माटोको मालिक’ वा ‘माटोको धनी देवता’ मान्न थालिएको जनविश्वास छ ।

नवमी मेलामा लाग्छ हजारौँको भीड

भिई क्षेत्रमा वैशाख र साउन पूर्णिमामा साना धार्मिक अनुष्ठान हुने भए पनि सबैभन्दा ठूलो मेला नवमीमा लाग्ने गर्दछ। यस मेलामा हुम्ला, जुम्ला, कालिकोट, बाजुरा, दैलेख, अछामलगायत जिल्लाबाट हजारौँ श्रद्धालु सहभागी हुने गर्छन्। सरकारी कार्यालय वा अदालतको निर्णयबाट चित्त नबुझेका व्यक्तिहरू न्याय माग्न, सन्तान नभएकाहरू सन्तान प्राप्तिको कामना गर्न तथा अन्नबाली र पशुचौपायाको समृद्धिको वरदान माग्न यहाँ पुग्ने गर्छन् ।

मनोकामना पूरा भएपछि भक्तजनहरूले खसी-बोका, कोसेली तथा अन्य उपहार चढाउने परम्परा रहेको छ । स्थानीयहरूले श्रद्धालुहरूलाई देवताको प्रसाद वितरण गरी स्वागत गर्ने गरेका छन् ।

धार्मिक पर्यटन विकासको प्रयास

स्थानीय पुजारी टोपबहादुर शाही र पर्या धामीका अनुसार भिई गुरु देवताको धार्मिक महत्त्व अन्य देवस्थलभन्दा फरक र विशेष छ । उनीहरूका अनुसार सरकारी निकायबाट न्याय नपाएका धेरै व्यक्तिले यहाँ आएर न्याय पाएको विश्वास र उदाहरणहरू स्थानीय समाजमा प्रचलित छन् ।

यस क्षेत्रको धार्मिक महत्त्वलाई ध्यानमा राख्दै पछिल्ला वर्षहरूमा प्रदेश सरकार, संघीय सरकार तथा स्थानीय तहको सहयोगमा केही भौतिक पूर्वाधार निर्माणका काम सुरु भएका छन् ।

भक्तजन बस्नका लागि चौतारा निर्माण, मन्दिर (माडु) निर्माण तथा दोमुखदेखि भिई गाउँसम्म पुग्ने पदमार्ग निर्माणको काम भइरहेको छ ।

प्रत्येक वर्ष लाग्ने नवमी मेलामा पञ्चेबाजा, दमाहा, बन्जुर बाजा, देउडा नृत्य तथा स्थानीय कला–संस्कृति झल्काउने विभिन्न कार्यक्रम आयोजना गरिन्छ । साथै भलिबल प्रतियोगिताजस्ता खेलकुद गतिविधिले पनि मेलालाई थप आकर्षक बनाउने गरेको छ ।

धार्मिक पर्यटनको बलियो सम्भावना

सोरु गाउँपालिका-३ का वडाध्यक्ष सिंहबहादुर धामीका अनुसार भिई गाउँ र आसपासका क्षेत्रमा एक दर्जनभन्दा बढी देवी-देवताका धार्मिक स्थल रहेका छन्, जसले यस क्षेत्रलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सक्छ ।

उनका अनुसार पछिल्लो समय गमगढीदेखि गाढीसम्म सडक पहुँच विस्तार भएको छ भने मुगु–हुम्ला सीमास्थित दोमुखबाट करिब एक घण्टाको पैदल यात्रामा भिई गाउँ पुग्न सकिन्छ ।

वडा अध्यक्ष धामीले भिई क्षेत्रलाई राष्ट्रियस्तरको धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न र यसको प्रचार–प्रसार बढाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, “भिई गाउँका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रभावकारी प्रचार गर्न सकिए यहाँ उत्पादन हुने रैथाने कागुनो, चिनो, सिमी, कोदो, मासलगायत बालीको बजार विस्तार हुनेछ । साथै पर्यटकको आगमन बढे स्थानीय अर्थतन्त्र, पूर्वाधार विकास र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पर्नेछ ।”

धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भिई गुरु देवता क्षेत्र आज पनि हजारौँ श्रद्धालुको विश्वासको केन्द्र बनेको छ। तर यसको धार्मिक तथा पर्यटन सम्भावनालाई राष्ट्रिय स्तरमा स्थापित गर्न अझै व्यापक प्रचार-प्रसार र पूर्वाधार विकास आवश्यक देखिन्छ । (नेपाल न्यूज बैंकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ